
बझाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनमा खप्तडछान्नाका कांग्रेस नेता तथा कार्यकर्ता एकै ठाउँमा उभिने भएका छन्।

केन्द्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको पक्षले असोज ३ र ४ गतेदेखि वडा अधिवेशन अघि बढाउने कार्यतालिका सार्वजनिक गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिका अघि सारेको छ। यसले देशभरका कांग्रेस कार्यकर्तामा अन्योल सिर्जना भइरहेका बेला खप्तडछान्नामा भने स्थानीय तहको पार्टी एकता र संगठनलाई प्राथमिकता दिँदै एउटै प्रक्रियामा सहभागी हुने सहमति भएको हो।
शुक्रबार खप्तडछान्ना गाउँपालिकामा सम्पन्न अगुवा कार्यकर्ता, वडा सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूको भेलाले कांग्रेसभित्र विभाजन र फुटको अवस्था आउन नदिन सबै नेता–कार्यकर्ता एकढिक्का भएर अधिवेशनमा सहभागी हुने सामूहिक प्रतिबद्धता व्यक्त गरेको हो।
भेलाले केन्द्रको विवादको असर स्थानीय संगठनमा पर्न नदिने तथा पार्टीको सांगठनिक एकता, सहकार्य र सौहार्दपूर्ण वातावरण कायम राख्दै वडा अधिवेशनमा सहभागी हुने निर्णय गरेको गाउँपालिका सचिव मुकेश रोकायाले जानकारी दिनुभयो।
उहाँका अनुसार केन्द्रमा देखिएको विवादका कारण स्थानीय तहमा समेत त्यसको प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै खप्तडछान्नाका नेता तथा कार्यकर्ताबीच व्यापक छलफल गरिएको थियो। छलफलपछि खप्तडछान्ना कांग्रेसलाई विभाजनबाट जोगाउँदै सबै नेता–कार्यकर्ता एउटै ठाउँमा उभिने निष्कर्षमा पुगेका हुन्।
भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य जगतप्रसाद जोशी, जिल्ला उपसभापति बर्कबहादुर रोकाया, पार्टी जिल्ला सचिव तथा खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया, क्षेत्रीय उपसभापति भीमबहादुर रोकाया लगायत गाउँकार्यसमितिका पदाधिकारी तथा सदस्य, वडा सभापति, क्रियाशील सदस्य र अन्य अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो।
बैठकमा सहभागी नेताहरूले अधिवेशनलाई गुटगत प्रतिस्पर्धाभन्दा संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने, व्यक्तिगत मतभेदलाई संगठनको हितभन्दा माथि राख्न नहुने र वडा तहदेखि नै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कामको सिलसिलामा जिल्ला बाहिर रहेका केही नेता तथा कार्यकर्ताले समेत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने र खप्तडछान्नामा कांग्रेसको एकता कायम राख्न सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको गाउँपालिका सचिव रोकायाले बताउनुभयो।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सभापति गगन थापाले पनि कार्यकर्तालाई कुनै अलमलमा नपरी वडा अधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको छ।


657 पटक हेरिएको 








