बझाङ — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बझाङको खप्तडछान्ना गाउँपालिकाले २६ लाख ३८ हजार ८ सय २८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकको पीडामा स्थानीय सरकारका तर्फबाट साथ दिन सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले विपद् कुनै भूगोल वा सीमामा सीमित नहुने भएकाले मानवीय संवेदनाका आधारमा सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो।उहाँले भन्नुभयो, “रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। हामी भौगोलिक रूपमा टाढा भए पनि त्यहाँका नागरिकको पीडा हाम्रो आफ्नै पीडा हो। विपद्को यस्तो घडीमा स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गर्ने निर्णय गरेका हौँ।” अध्यक्ष रोकायाले विपद्को समयमा सरकार, स्थानीय तह, संघसंस्था र नागरिक सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार अहिलेको सहयोग रकमभन्दा पनि विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता र मानवीय सहकार्यको सन्देश महत्वपूर्ण छ।
“आज हामीले रसुवाका नागरिकलाई सहयोग गरेका छौँ। भोलि हाम्रो ठाउँमा विपद् आउँदा अरूले पनि यसैगरी साथ दिने विश्वास छ। दुःखमा एकअर्काको साथ दिनु नै नेपाली समाजको मानवीय संस्कार हो,” रोकायाले भन्नुभयो।
खप्तडछान्ना गाउँपालिकाको निर्णयले विपद्का बेला स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धताको उदाहरण प्रस्तुत गरेको छ। गाउँपालिकाले सहयोग रकम सम्बन्धित निकायमार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग हुने जनाएको छ।


89 पटक हेरिएको 








