बझाङका रवीन्द्र युएफसीको ढोकामा, अब उपाधिका लागि अन्तिम भिडन्त

  खप्तड समाचारदाता  89 पटक हेरिएको

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा स्थान बनाएका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै ढाँट उपाधि नजिक पुगेका हुन्।

तीन राउन्डको प्रतिस्पर्धामा तीनमध्ये दुई निर्णायकले ढाँटको पक्षमा २९–२८ अंक दिए। एक निर्णायकले भने मर्डाेकको पक्षमा २९–२८ अंक दिएका थिए। दुई निर्णायकको समर्थन पाएपछि ढाँट विजयी घोषित भए।

सेमिफाइनल जितसँगै ढाँटले अब ‘रोड टु युएफसी’को उपाधिका लागि जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

फाइनल जितेमा ढाँटले युएफसीको बहु–फाइट सम्झौता पाउनेछन्। त्यसपछि विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीको मुख्य मञ्चमा नेपाली फाइटरका रूपमा प्रतिस्पर्धा गर्ने उनको ढोका खुल्नेछ।

बझाङबाट अन्तर्राष्ट्रिय एमएमएको ठूलो मञ्चसम्म पुगेका ढाँटको यो यात्रा नेपाली खेलकुदका लागि समेत गौरवको विषय बनेको छ। अब उनको अगाडिको चुनौती एउटै छ—रोड टु युएफसीको उपाधि जित्दै युएफसीमा पाइला राख्ने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार