
बझाङ। बझाङको दुर्गाथली गाउँपालिका–२, चौधारीस्थित चौधारी माध्यमिक विद्यालयको नाममा रहेको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन गाउँपालिकाले ३५ दिने सूचना जारी गरेको छ। स्थानीय बासिन्दाले उक्त जग्गामा करिब ३० वटा घरटहरा निर्माण गरी बजारसमेत सञ्चालन गर्दै आएको र २०४९ सालदेखि जग्गा अतिक्रमण भएको बताइएको छ।
दुर्गाथली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले २०८३ साल असोज २३ गते जारी गरेको सूचना नं. ७ मा विद्यालयको जग्गा अतिक्रमण गरी व्यक्तिगत घर तथा टहराहरू निर्माण गरिएको उल्लेख छ। सूचनाअनुसार साविक चौधारी गाविस वडा नं. ७,हाल दुर्गाथली गाउँपालिका–२ अन्तर्गत पर्ने नक्सा सिट नं. ०१६–११२४, कित्ता नं. १३६४ को जग्गा विद्यालयको नाममा रहेको मालपोत कार्यालयको स्रेस्तामा उल्लेख छ।
गाउँपालिकाले जारी गरेको सूचनामा उक्त जग्गाको क्षेत्रफल १ लाख ९६ हजार ३० वर्गमिटर उल्लेख गरिएको छ। जग्गा अतिक्रमण भएको विषयमा उजुरी प्राप्त भएपछि गाउँपालिकाको संयोजनमा नापी कार्यालयका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अमिन तथा सामाजिक र बुद्धिजीवी जनप्रतिनिधिसहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको सूचनामा जनाइएको छ।
निरीक्षणका क्रममा उक्त कित्ताको जग्गामा विभिन्न व्यक्तिहरूले संरचना निर्माण गरी भोगचलन गरिरहेको पाइएको गाउँपालिकाले जनाएको छ। यसअघि पनि सम्बन्धित व्यक्तिहरूलाई जग्गा खाली गराउन जानकारी गराउनुका साथै समन्वय गरिएको भए पनि जग्गा खाली नभएपछि पुनः ३५ दिने सूचना जारी गरिएको हो।
विद्यालयको जग्गा संरक्षण गर्न गाउँपालिका प्रतिबद्ध : अध्यक्ष थापा
दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा ‘तुफान’का अनुसार विद्यालयको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो। विद्यालयको नाममा रहेको सम्पत्ति सुरक्षित राख्दै अतिक्रमित जग्गा खाली गराउने उद्देश्यले गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको उनले बताएका छन्।
अध्यक्ष थापाले सम्बन्धित व्यक्तिहरूलाई तोकिएको समयभित्र जग्गा खाली गरी सार्वजनिक तथा शैक्षिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गरेका छन्। विद्यालयको जग्गा विद्यालयकै प्रयोजनमा उपयोग हुनुपर्नेमा जोड दिँदै उनले यस विषयमा स्थानीयवासीको सहयोग आवश्यक रहेको बताएका छन्।
समयसीमाभित्र जग्गा खाली नगरे कानुनी प्रक्रिया अघि बढाइने
गाउँपालिकाले जारी गरेको सूचनामा तोकिएको समयावधिभित्र अतिक्रमित जग्गा खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जानकारी गराइएको छ।
त्यसैगरी, विद्यालयको जग्गामा निर्माण गरिएका संरचना तथा घरटहरासम्बन्धी व्यक्ति र संस्थाहरूले ती संरचना स्वस्फूर्त रूपमा विद्यालयलाई हस्तान्तरण गर्न चाहेमा गाउँपालिकाको सम्मानजनक व्यवहार रहनेसमेत सूचनामा उल्लेख छ।
विद्यालयको नाममा रहेको जग्गा संरक्षण र त्यसको उचित उपयोग सुनिश्चित गर्ने विषय स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय बासिन्दाका लागि महत्त्वपूर्ण बनेको छ। अब जारी गरिएको ३५ दिने सूचनापछि सम्बन्धित व्यक्तिहरूले जग्गा खाली गर्ने वा कानुनी प्रक्रियाअनुसार आफ्नो पक्ष प्रस्तुत गर्ने विषयले यस प्रकरणको आगामी दिशा निर्धारण गर्नेछ।


162 पटक हेरिएको 








