गाडीको ठक्करबाट घाइते गिरिको उपचारमा लापरवाही भएको आफन्तको आरोप

  शैलेन्द्र रोकाया  627 पटक हेरिएको

धनगढी — जयपृथ्वी नगरपालिका–५ घर भई हाल कैलालीमा बस्दै आएका नन्दलाल गिरीलाई भदौ १ गते बिहान करिब ५ः३० बजे मर्निङ वाकमा निस्किएका बेला सुदूरपश्चिम प्रदेश ०१–००१ ज २८७५ नम्बरको हाइसले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई चालकले तत्काल नवजीवन अस्पताल पुर्‍याए पनि उनका आफन्तलाई भने घटनाबारे तत्काल जानकारी नदिएको आफन्तको आरोप छ।

स्थानीय पूर्ववडाध्यक्ष डम्मरबहादुर सिंहका अनुसार दुर्घटना भएको करिब एक दिनपछि मात्र गिरीका आफन्तले उनी दुर्घटनामा परी अस्पतालमा रहेको जानकारी पाएका थिए। आफन्तलाई समयमै खबर नगरिँदा गम्भीर अवस्थामा रहेका बिरामीको उपचारबारे परिवारले तत्काल आवश्यक पहल गर्न नपाएको उनीहरूको भनाइ छ।

घाइतेका आफन्तले नवजीवन अस्पतालमा तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकीय सल्लाह भए पनि उपचार प्रक्रियामा चरम लापरवाही गरिएको आरोप लगाएका छन्। नवजीवन अस्पताल र सेती प्रादेशिक अस्पतालमा न्युरोसम्बन्धी उपचार हेर्ने चिकित्सक एउटै व्यक्ति भए पनि गम्भीर अवस्थामा रहेका गिरीलाई आवश्यक उपचारबिना सेती प्रादेशिक अस्पतालमा ‘रेफर’ गरिएको आफन्तको भनाइ छ।

आफन्तका अनुसार तत्काल अप्रेसन आवश्यक रहेको अवस्थामा सुदूरपश्चिम यातायात समितिसँग सम्बन्धित पक्षले चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुको साटो गम्भीर घाइते गिरीलाई सेती प्रादेशिक अस्पतालमा लगेर छाडेको आरोप छ। बेहोस अवस्थामा रहेका बिरामीको उपचारमा आवश्यक संवेदनशीलता नदेखाई बेवारिसे अवस्थामा छाडिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

‘दुर्घटना भएपछि तत्काल आफन्तलाई खबर गर्नुपर्ने र बिरामीको उपचारका लागि आवश्यक समन्वय गर्नुपर्नेमा त्यसो गरिएन,’ पूर्ववडाध्यक्ष सिंहले भने, ‘न त घटना भएको जानकारी समयमै परिवारलाई दिइयो, न त गम्भीर अवस्थामा रहेका घाइतेको उपचारमा अपेक्षित गम्भीरता देखाइयो।’

दुर्घटनामा संलग्न हाइस सुदूरपश्चिम यातायात समितिसँग सम्बन्धित रहेको बताउँदै आफन्तले चालक तथा सम्बन्धित पक्षले दुर्घटनापछि घाइतेको उपचार र परिवारलाई जानकारी गराउने दायित्व पूरा नगरेको आरोप लगाएका छन्।

सेती प्रादेशिक अस्पतालमा समेत उपचार सम्भव नभएपछि गिरीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ। आफन्तका अनुसार अहिले उनको उपचार लखनउमा भइरहेको छ।

घटनामा संलग्न चालक तथा सम्बन्धित यातायात पक्षबाट भएको भनिएको लापरवाही, घाइतेलाई आफन्तको जानकारीबिना अस्पताल पुर्‍याइएको विषय तथा उपचार प्रक्रियाबारे निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग छ। घटनाबारे चालक, सम्बन्धित यातायात समिति तथा दुवै अस्पतालको आधिकारिक धारणा भने प्राप्त हुन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार