
बझाङ । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट आज आफ्नो खेल जीवनकै महत्वपूर्ण प्रतिस्पर्धामा उत्रँदैछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले रोड टु यूएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकको सामना गर्दैछन्।
चीनको साङ्घाईस्थित अक्टागनमा हुने रवीन्द्र र मर्डोकबीचको भिडन्त नेपाली समयअनुसार अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ। दुवै खेलाडीको उत्कृष्ट व्यावसायिक प्रदर्शनका कारण आजको प्रतिस्पर्धालाई निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ।
१० खेलमा ९ जित, एक मात्र हार
बान्टमवेट विधामा प्रतिस्पर्धा गर्दै आएका रवीन्द्रले व्यावसायिक एमएमए करिअरमा हालसम्म १० खेल खेलेका छन्। जसमा उनले ९ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्।
सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि रवीन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ मा उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै बान्टमवेट उपाधि जितेका थिए। यससँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।
यूएफसी यात्रामा ऐतिहासिक अवसर
रवीन्द्रले गत मे महिनामा मकाउमा आयोजित रोड टु यूएफसी सिजन–५ को क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
यससँगै उनी रोड टु यूएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।
अब मर्डोकविरुद्धको भिडन्त रवीन्द्रका लागि अर्को इतिहास रच्ने अवसर हो। आजको खेलमा जित हात पारे उनी रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन्।
मर्डोक पनि अपराजित
रवीन्द्रका प्रतिद्वन्द्वी कासिब मर्डोक पनि अहिलेसम्म अपराजित छन्। उनले गत मे महिनामा रोड टु यूएफसी सिजन–५ को क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
त्यसैले आजको भिडन्त दुवै फाइटरका लागि केवल अर्को खेल नभई आफ्नो करिअरको ठूलो अवसरसमेत हो।
रवीन्द्रको लक्ष्य आज मर्डोकलाई पराजित गर्दै फाइनलमा पुग्ने हुनेछ। फाइनलमा समेत जित निकाल्न सके उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने ढोका खोल्नेछन्।
नेपाली एमएमए इतिहासमा नयाँ अध्याय लेख्ने लक्ष्यसहित ‘बझाङ्गी बाघ’ रवीन्द्र आज साङ्घाईको अक्टागनमा उत्रँदैछन्।


95 पटक हेरिएको 








