गौरा : तल्लागाउँको आँगनमा छुटेको बाल्यकाल

गौरा- रहर लाग्दो तल्लागाउँ

  शैलेन्द्र रोकाया  166 पटक हेरिएको

गौरा आउनुअघि नै मनमा एउटा प्रश्न उम्रिन्थ्यो ,गौरा कहिले आउला, बिरुणा कहिले खान पाइएला? बाल्यकालमा त्यो प्रश्न केवल एउटा पर्वको प्रतीक्षा थिएन, त्यो त खुसी आउने दिनको प्रतीक्षा थियो। नयाँ लुगा, आफन्तको जमघट, देउडाको रौनक, मन्दिरको आस्था र बिरुणाको स्वादसँग जोडिएको हाम्रो सानो संसार थियो- गौरा।

गौरा सुदूरपश्चिमको विशिष्ट धार्मिक तथा सांस्कृतिक पर्व हो। यसको मूल धार्मिक आस्था गौरा अर्थात् देवी पार्वती र महादेवसँग जोडिएको मानिन्छ। विशेषतः विवाहित तथा महिलाहरूको आस्था, व्रत र पूजासँग यसको गहिरो सम्बन्ध छ। बिरुडाको प्रसाद, गौरा पूजा, देउडा, सामूहिक भेटघाट र सांस्कृतिक गतिविधिले यस पर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी सुदूरपश्चिमको जीवनशैली र सामुदायिक पहिचानको उत्सव बनाएका छन्। आज गौरा सुदूरपश्चिमको संस्कृति चिनाउने महत्वपूर्ण पर्वका रूपमा देशभरि फैलिएको छ।

तर मेरो लागि गौरा इतिहासका पुस्तकमा भेटिने पर्व होइन। मेरो गौरा त नेटाकाटिया तल्लागाउँको नवदुर्गा मन्दिरको आँगनमा भेटिन्छ। बाल्यकालका ती दुई–तीन दिन कति विशेष थिए! सिल्कावाडा हुँदै, हिलो, वर्षा र चिप्लो बाटो छिचोल्दै बागपधेरा पार गरेर तल्लागाउँ पुग्दाको त्यो यात्रा आज पनि स्मृतिको कुनै पुरानो चलचित्रझैँ मनभित्र चलिरहन्छ। बाटो उही होला।मन्दिर उही होला।गाउँ पनि उही होला। तर त्यो बाटोमा दौडिने बालक कहाँ हरायो?

प्रसादको त्यो बिरुणा सम्झिँदा अहिले पनि जिब्रोमा बाल्यकालको स्वाद फर्किएझैँ लाग्छ। भारिखेलको उत्साह, देउडाको ताल, सांस्कृतिक कार्यक्रमको रौनक, आफन्तको भीड र गाउँभरि फैलिएको त्यो उत्सव—त्यसमा हामीले चाड मात्र मनाएका थिएनौँ, हामीले आफ्नो बाल्यकाल बाँचिरहेका थियौँ। गौरा हुने दिनको अर्को स्मृति पनि अनौठो छ। सायद पानी नपरेको कुनै अपवादबाहेक हरेक वर्ष आकाश पनि हाम्रो गौरासँगै रोएको हुन्थ्यो। हिलोमा चिप्लिँदै, वर्षामा भिज्दै, कहिले लड्दै, कहिले हाँस्दै हामी तल्लागाउँ पुग्थ्यौँ। त्यतिबेला त्यो हिलो दुःख थिएन, त्यो बाटो कठिन थिएन। किनकि अगाडि गौरा थियो, नवदुर्गाको आँगन थियो, साथीहरू थिए र बाल्यकालको निष्कलंक खुसी थियो।

आज जीवनले धेरै टाढा ल्याइपुर्‍याएको छ। शहरका सडक फराकिला भएका छन्। यात्रा सहज भएको छ। समयसँगै जीवनका प्राथमिकता फेरिएका छन्। तर मनको एउटा कुनामा अझै त्यो पुरानो बाटो छ , सिल्कावाडा, बागपधेरा हुँदै नेटाकाटिया तल्लागाउँ जाने बाटो। कहिलेकाहीँ लाग्छ, फेरि एकपटक त्यही बाटो हिँडूँ। हिलोमा पाइला टेकूँ। नवदुर्गाको आँगनमा पुगूँ। देउडाको ताल सुनूँ। अनि बाल्यकालमा जस्तै कसैलाई सोधूँ,
“गौरा कहिले आउला?” तर समयसँग एउटा निर्दयी स्वभाव हुँदो रहेछ। उसले हामीलाई फर्केर हेर्न त दिन्छ, फर्केर जान दिँदैन।गौरा हरेक वर्ष आउँछ। बिरुणा फेरि पाक्छ। देउडा फेरि गुञ्जिन्छ। मन्दिरको आँगन फेरि भरिन्छ। नयाँ पुस्ता त्यही बाटो हुँदै दौडिएर आउँछ। तर त्यो समय आउँदैन।त्यो बालक आउँदैन। ती अनुहारहरू आउँदैनन्।र हामी पनि अब पहिलेका हामी रहेनौँ।

आज गौरा आउँदा मन तल्लागाउँ पुग्छ, तर शरीर टाढै हुन्छ। स्मृतिको ढोका खोल्दा भने त्यही पुरानो आँगन देखिन्छ,जहाँ एउटा सानो बालक आँखाभरि उत्साह बोकेर उभिएको छ र गौरा आउने बाटो हेरिरहेको छ। सायद त्यो बालकले अझै मलाई चिन्दछ। म भने उसलाई चिन्न खोज्दै वर्षौँदेखि आफ्नै स्मृतिको गल्लीमा भौँतारिइरहेको छु। गौरा त हरेक वर्ष आउँछ…
तर जीवनमा एकपटक आउने बाल्यकाल फेरि कहिल्यै आउँदैन।

त्यसैले आज गौरा सम्झिँदा पर्व मात्र सम्झिन्नँ ,म त त्यो समय सम्झिन्छु, जुन समय बितेर गएन; मेरो मनभित्र सधैँका लागि बस्यो। र कहिलेकाहीँ लाग्छ, तल्लागाउँको त्यो नवदुर्गा मन्दिरमा गौरा अझै लागिरहेको छ, देउडा अझै घन्किरहेको छ, बिरुणाको बास्ना अझै फैलिरहेको छ… केवल म ढिलो पुगेँछु, वा सायद, मेरो बाल्यकाल नै मलाई कुरेर थाकिसकेछ।

                                                                                                                         लेखक पेसाले पत्रकार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार