बेपत्ता खड्काको खोजीका लागि गाउपालिकाबाट ड्रोन टोली परिचालन

  खप्तड समाचारदाता  149 पटक हेरिएको

बझाङ — खप्तडछान्ना गाउँपालिका–७, गोर्खाली निवासी जितेन्द्र खड्का बेपत्ता भएपछि उहाँको खोजीका लागि गाउँपालिकाले ड्रोनसहितको खोज तथा उद्धार टोली परिचालन गरेको छ।

भदौ २४ गते ‘जंगलमा च्याउ लिन जान्छु’ भन्दै घरबाट निस्किएका खड्का त्यसयता परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन। स्थानीय बासिन्दाले बाजुरा र बझाङको सीमामा पर्ने जंगल क्षेत्रमा व्यापक खोजी गरे पनि उहाँको अवस्था पत्ता लाग्न नसकेपछि गाउँपालिकाको पहलमा ड्रोनसहितको टोली परिचालन गरिएको हो।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले बेपत्ता खड्काको खोजीका लागि प्रहरी र स्थानीय बासिन्दासहितको टोलीलाई ड्रोनसहित जंगल क्षेत्रमा पठाइएको जानकारी दिनुभयो। स्थानीयले जंगलमा व्यापक खोजी गर्दा पनि सम्भावित भौगोलिक कठिनाइका कारण खोजी गर्न असम्भवजस्तै भएपछि थप प्रविधिको प्रयोग गरी खोजी अघि बढाइएको उहाँले बताउनुभयो।

यसैबीच, जिल्ला प्रहरी स्रोतका अनुसार खड्काको मोबाइल फोनमा आइतबारसम्म सम्पर्क भइरहेको थियो। मोबाइल फोनमा बाजुराको बूढीगंगा क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरबाट सिग्नल कनेक्ट भएको देखिएको प्रहरीले जनाएको छ। तर, हाल भने मोबाइल फोन अफ रहेको बताइएको छ।मोबाइलको अन्तिम सिग्नल र स्थानीयले दिएको सूचनाका आधारमा सम्भावित क्षेत्रमा खोजीलाई केन्द्रित गरिएको छ। ड्रोनको प्रयोगबाट दुर्गम तथा घना जंगलका क्षेत्रमा समेत खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ।

बेपत्ता खड्काको अवस्था अझै अज्ञात रहेकाले परिवारजन, आफन्त र स्थानीयवासी चिन्तित छन्। उहाँ सकुशल भेटिने आशामा खोजी कार्यलाई तीव्र बनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार