दरा, गर्खा, बिसदेखि जिमुवाल, महतारा र भण्डारीसम्म, बझाङको प्राचीन प्रशासनिक संरचनाको वास्तविक इतिहास अझै खोजीको प्रतीक्षामा
शैलेन्द्र रोकाया
इतिहास राजा–महाराजा, युद्ध र दरबारको कथा मात्र होइन। इतिहास त्यो पनि हो, जसले कुनै भूगोल कसरी चल्यो, समाज कसरी व्यवस्थित भयो, कर कसले उठायो, न्याय कसले गर्यो, गाउँको नेतृत्व कसले गर्यो र जनजीवनलाई कुन सामाजिक तथा प्रशासनिक संरचनाले बाँधेर राख्यो भन्ने प्रश्नको उत्तर दिन्छ।
बझाङको इतिहासलाई पनि केवल राजवंश र राज्यसत्ताको इतिहासमा सीमित गरेर बुझ्न सकिँदैन। यहाँका दरा, गर्खा, बिस, मौवाल, थर्पु, गाउँ, देवस्थल, धारा, पुराना बाटा र प्राचीन स्थाननामभित्र एउटा लामो सामाजिक, आर्थिक र प्रशासनिक इतिहास लुकेको छ। तर त्यस इतिहासको ठूलो हिस्सा अझै व्यवस्थित अभिलेख, प्रमाण र अनुसन्धानको पर्खाइमा छ।
उपलब्ध ऐतिहासिक विवरणमा नेपाल एकीकरणअघिको वर्तमान बझाङ क्षेत्र बझाङ र थलारा राज्यका रूपमा विभाजित रहेको उल्लेख पाइन्छ। योगी नरहरिनाथसँग सम्बन्धित विवरण उद्धृत गर्दै केही स्रोतले तत्कालीन थलारा राज्य छ वटा दरा तथा गर्खामा र बझाङ राज्य १२ वटा दरा तथा गर्खामा विभाजित रहेको उल्लेख गरेका छन्। थलारातर्फ सायल, छबीस, चौगाउँ, सातसय, चालीस र ढोग तथा बझाङतर्फ कुन्ना, सटिका, तलकोट, जुजी, छान्ना, छबीस, पणेस, सिउँ, थली–नविस, सुनी, बुंगल र चीरको नाम दिइएको छ। तीमध्ये केही भूभाग अहिलेको बाजुरा र डोटीमा समेत पर्छन्। तर यतिमै बझाङको इतिहास पूरा हुँदैन।
दरा र गर्खा कहिलेदेखि?
इतिहासको गर्भमा बझाङका अनुत्तरित प्रश्नहरूआज हामीले सहज रूपमा प्रयोग गर्ने दरा र गर्खा वास्तवमा कहिलेदेखि अस्तित्वमा आए? यी प्रशासनिक संरचना बझाङ राज्यको निर्माणसँगै बनेका थिए वा त्यसअघि नै यहाँ कुनै स्थानीय शासन प्रणालीका रूपमा विकसित भइसकेका थिए?
नेपाल कानून आयोगको कानूनी शब्दकोशले ‘गर्खा’लाई पुरानो प्रशासनिक तथा सैनिक एकाइ, गाउँ वा मौजाको समुच्चय तथा राज्यको सानो इलाकाका रूपमा अर्थ्याएको छ। तर बझाङमा प्रचलित गर्खाको वास्तविक संरचना, अधिकार क्षेत्र र कार्यप्रणाली के थियो भन्ने विषयमा अझै गहिरो स्थानीय अध्ययन आवश्यक छ।
त्यस्तै बाह्र बिस, पन्ध्र बिस, नौबिस, छबिस, आठबिस, बरकोट्या, साठी मौवाल र थर्पुजस्ता नामहरू कसरी बने? ‘बिस’ भन्नाले के बुझिन्थ्यो? यो जनसंख्याको एकाइ थियो, परिवार वा घरधुरीको गणना थियो, भूमि वा उत्पादनको कुनै मापन थियो कि निश्चित प्रशासनिक भूभागको नाम?
यी प्रश्नको उत्तर अनुमानबाट होइन, पुराना लालमोहर, ताम्रपत्र, राजस्वसम्बन्धी कागजात, वंशावली, भूमि अभिलेख र स्थानीय मौखिक इतिहासको तुलनात्मक अध्ययनबाट खोजिनुपर्छ।
पद र जिम्मेवारीको इतिहास
बझाङको पुरानो सामाजिक तथा प्रशासनिक संरचनामा सुनिने जिमुवाल, राइटर, काजी, महतारा, ओखेडा, भण्डारी र रोकायाजस्ता पद तथा जिम्मेवारी पनि इतिहासका महत्वपूर्ण विषय हुन्।
यी पद कहिलेदेखि सुरु भए? कसले कसलाई नियुक्त गर्थ्यो? कुन पद राजकीय प्रशासनसँग सम्बन्धित थियो र कुन स्थानीय सामाजिक संरचनासँग? यी जिम्मेवारी वंशानुगत थिए कि राज्यको नियुक्ति? राजस्व उठाउने, न्याय सम्पादन गर्ने, प्रशासन सञ्चालन गर्ने, सुरक्षा हेर्ने वा जनताको प्रतिनिधित्व गर्ने—तिनको वास्तविक भूमिका के थियो?
आज यी शब्दहरू कतिपय ठाउँमा केवल पुरानो पदावलीजस्ता सुनिन्छन्। तर कुनै समय यिनै जिम्मेवारी सम्हाल्ने व्यक्तिहरू गाउँ, समाज र राज्यबीचको सम्बन्धका महत्वपूर्ण पात्र हुन सक्थे। त्यसैले पदनामको मात्र सूची बनाएर पुग्दैन; पदको अधिकार, दायित्व, सामाजिक हैसियत र राज्यसँगको सम्बन्धसमेत खोजिनुपर्छ।
नामभित्र लुकेको इतिहास
इतिहास सधैँ शिलालेखमा लेखिएको हुँदैन। कहिलेकाहीँ इतिहास एउटा गाउँको नाममा बाँचेको हुन्छ। कहिलेकाहीँ खेतको नाममा, पुरानो बाटोमा, धारा–कुवामा, देवताको थानमा वा पुस्तौँदेखि सुनिँदै आएको स्थानीय कथामा सुरक्षित हुन्छ।
त्यसैले मुङ्ग्राका धारा, मुङ्ग्राका गडोजस्ता पुराना स्थाननामलाई सामान्य भौगोलिक नाम मानेर छाड्न मिल्दैन। ती नाम कहिले राखिए? किन राखिए? त्यहाँको सामाजिक उपयोग के थियो? कुनै पुरानो बस्ती, व्यापारिक बाटो, धार्मिक परम्परा वा प्रशासनिक संरचनासँग तिनको सम्बन्ध थियो कि थिएन?
यस्ता प्रश्नको वैज्ञानिक अध्ययन गर्न सके बझाङको पुरानो समाज, बसोबासको विस्तार र सभ्यताको विकासक्रम बुझ्न नयाँ आधार प्राप्त हुन सक्छ।
इतिहास खोज्ने कि किंवदन्ती दोहोर्याउने?
बझाङमा इतिहासका धेरै कुरा पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका छन्। तीमध्ये कतिपय ऐतिहासिक तथ्यका नजिक छन्, कतिपय किंवदन्ती बनेका छन् र कतिपय समयक्रममा परिवर्तन भएका हुन सक्छन्।
यसको अर्थ मौखिक इतिहासलाई अस्वीकार गर्नु होइन। बरु मौखिक इतिहासलाई प्रमाण खोज्ने प्रारम्भिक आधारका रूपमा लिएर लिखित दस्तावेज, पुरातात्त्विक प्रमाण, स्थाननाम, वंशावली र अन्य ऐतिहासिक स्रोतसँग परीक्षण गर्नुपर्छ।
स्थानीय ज्येष्ठ नागरिकका सम्झना, पुराना वंशावली, ताम्रपत्र, लालमोहर, मन्दिर तथा देवस्थलका अभिलेख, राजस्व कागजात र पुराना नक्सालाई एउटै अनुसन्धानको दायरामा ल्याउन सके बझाङका इतिहासका धेरै अँध्यारा पाटा उज्यालिन सक्छन्।
इतिहासको अधुरो अध्याय
बझाङको इतिहासमा राजा र राज्यको चर्चा तुलनात्मक रूपमा धेरै भएको छ। तर राज्य कसरी चल्थ्यो? भन्ने प्रश्न अझै पर्याप्त रूपमा अनुसन्धान भएको देखिँदैन।
दरबार थियो, तर दरबार र जनताबीचको प्रशासनिक सम्बन्ध कस्तो थियो?
राजा थिए, तर गाउँको शासन कसले चलाउँथ्यो? कर उठ्थ्यो,तर कर संकलनको संरचना के थियो? न्याय हुन्थ्यो, तर स्थानीय न्यायको संयन्त्र कस्तो थियो? गाउँ थिए, तर गाउँलाई प्रशासनिक रूपमा कसरी व्यवस्थित गरिएको थियो? यिनै प्रश्नको उत्तरले राजाको इतिहासभन्दा बाहिरको बझाङ देखाउँछ ।
अब अनुसन्धानको समय
बझाङका दरा, गर्खा, बिस, मौवाल, थर्पु र प्रशासनिक पदहरूको इतिहास खोज्नु केवल पुरानो प्रशासनिक संरचना बुझ्ने प्रयास होइन। यो बझाङको सामाजिक विकास, राज्य सञ्चालन, स्थानीय शासन, आर्थिक सम्बन्ध र सभ्यताको विकासक्रम बुझ्ने आधार हो।
अब पुराना लालमोहर खोजिनुपर्छ। ताम्रपत्र पढिनुपर्छ। राजस्वका कागजात पल्टाइनुपर्छ। पुराना वंशावली संकलन गरिनुपर्छ। मन्दिर र देवस्थलका अभिलेख सुरक्षित गर्नुपर्छ। ज्येष्ठ नागरिकका मौखिक इतिहास अभिलेखीकरण गर्नुपर्छ। भूगोलसँग जोडिएका प्राचीन नामको भाषिक, ऐतिहासिक र सामाजिक अध्ययन गरिनुपर्छ।
किनकि कुनै एउटा पुरानो नाम मेटिँदा केवल एउटा शब्द मेटिँदैन। त्यससँगै एउटा समय, एउटा पुस्ता र एउटा सभ्यताको स्मृति हराउन सक्छ।
बझाङको इतिहास अझै पूरा लेखिएको छैन। केही पाना पुस्तकमा छन्, केही अभिलेखमा छन्, केही भग्न संरचनामा छन् र धेरै पाना अझै जनताको स्मृतिमा बाँचेका छन्। सायद कुनै पुरानो ताम्रपत्रमा उत्तर लुकेको छ। सायद कुनै जीर्ण लालमोहरले हराएको प्रशासनको कथा बोकेको छ। सायद कुनै ज्येष्ठ नागरिकको स्मृतिमा इतिहासको एउटा महत्वपूर्ण अध्याय अझै जीवित छ। अब ती पाना खोज्ने समय आएको छ। आफ्नो इतिहास खोज्नु विगतमा फर्किनु होइन; आफ्नो वर्तमानको जरा र भविष्यको पहिचान खोज्नु हो।
बझाङका दरा, गर्खा, बिस र प्राचीन प्रशासनिक संरचनाको इतिहास अब अनुमान र किंवदन्तीमा मात्र सीमित नरहोस्। प्रमाण, अनुसन्धान र अभिलेखका आधारमा नयाँ पुस्तासामु प्रस्तुत होस्। यही खोजबाट बझाङको इतिहासको एउटा अधुरो अध्याय पूरा हुन सक्छ।
लेखक शैलेन्द्र रोकाया पत्रकार महासंघ, बझाङ शाखाका पूर्वअध्यक्ष हुन्। उनी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। पछिल्लो समय बझाङको इतिहास, संस्कृति, सभ्यता र स्थानीय स्मृतिमा लुकेका तथ्यहरूको खोज तथा अभिलेखीकरणमा निरन्तर सक्रिय छन्।


180 पटक हेरिएको 








