खप्तडछान्नामा साबुन उत्पादन तालिम सम्पन्न : स्थानीय स्रोतबाट स्वरोजगारतर्फ महिलाको अग्रसरता

  खप्तड समाचारदाता  290 पटक हेरिएको

बझाङ — खप्तडछान्ना गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ मा सञ्चालन गरिएको सात दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। विपन्न महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त तालिममा झण्डै ३० जना महिलाको सहभागिता रहेको थियो।

तालिममा स्थानीय रूपमा पाइने गाजा, गुलाबको फूल, निम, पुदिना लगायत करिब सात प्रकारका कच्चा पदार्थ प्रयोग गरी साबुन उत्पादन गर्ने सीप सिकाइएको वडा नम्बर ३ की वडा अध्यक्ष गौरीकुमारी अधिकारिले जानकारी दिनुभयो। ग्रामीण क्षेत्रका महिलालाई जीविकोपार्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले आयआर्जनको नयाँ सम्भावना खोल्ने विश्वास लिइएको उहाँले बताउनुभयो।

उहाँका अनुसार स्थानीय स्रोत–साधनको प्रयोगबाट बनाइने साबुनले छाला सम्बन्धी विभिन्न समस्यामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले पालिकाभरका अधिकांश वडामा यस्तै प्रकारका सीपमूलक तालिम सञ्चालन गरिनुका साथै आवश्यक मेसिन तथा औजार समेत हस्तान्तरण गरिएको जानकारी दिनुभयो। महिलालाई उद्यमशीलतामा जोड्दै रोजगारीका अवसर सिर्जना गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ।

कार्यक्रमकी सहभागी लक्ष्मी रोकायाले तालिमबाट प्राप्त सीप महिलाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यसलाई व्यवसायका रूपमा विकास गरी स्वरोजगार बन्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय स्रोतको उपयोग गर्दै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिमले ग्रामीण भेगमा आर्थिक सशक्तीकरणतर्फ सकारात्मक सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार