सरकारले चासो दिएन,चैनपुर–ताक्लाकाेट सडक खण्डकाे काम ‘कछुवा गति’ मा

सुनिल मण्डेल

बझाङ : नेपाल सरकारले राष्ट्रिय गाैरवकाे याेजनामा बझाङकाे चैनपुर–ताक्लाकाेट सडक खण्डलाई पनि पारेकाे छ । यद्यपि यो योजनाको काम कछुवा गतिमा भइरहेकाे छ । बझाङको सदरमुकाम चैनपुरबाट एक सय १७ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतलाई जोड्ने सडक खण्डकाे काम निकै ढिलाे गरी भइरहेकाे हाे ।

यस सडकको चैनपुर रुवातोलासम्म १८ किलोमिटर विकेन्द्रीकृत पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो । तर अहिलेसम्म त्योभन्दा माथि झण्डै १८ किलोमिटर मात्रै सडक कटान भएको छ । सन् २०१२ मा डीपीआर तथा सर्भे भएर २०६८ सालमा यस सडक खण्डको निर्माण कार्य सुरु भएको थियो । २०७२ सालदेखि नागार्जुन स्वछन्द बानिया निर्माण सेवा र राजेन्द्र निर्माण सेवाले सडक कटानको काम गरिरहेका छन् । भोपुरदेखि १८ किलोमिटर रुपातोलाको सिमानासम्म राजेन्द्र निर्माण सेवाले सडक कटानको जिम्मा लिएको छ भने त्योभन्दा माथि नागार्जुन स्वछन्द बानिया निर्माण सेवाले सडक कटानको जिम्मा पाएको छ ।

२०७२ सालदेखि अहिलेसम्म ३६ किलोमिटर मात्रै सामान्य ट्र्याक खोल्ने काम भएको छ । जसमा १८ किलोमिटर २०६८ सालमा नै ड्रिलिपले ट्रयाक खोलेको थियो । अहिले भोपुरदेखि रुवातोलको सिमानासम्म डबल कटिङ गर्ने कामसमेत सुस्त गतिमा भइरहेको छ ।

याे सडक खण्ड निर्माणमा सरकारले नै चासो नदिएकै कारण काम राम्रोसँग सञ्चालन हुन नसकेको माओवादी केन्द्र बझाङका अध्यक्ष मीनबहादुर कुँवरले बताउनुभयो । यसमा निर्वाचित जनप्रतिनिधिले पनि चासाे दिएर सरकारलाई घचघचाउनु पर्ने उहाँकाे भनाइ छ ।

नेपाली कांग्रेस बझाङका पार्टी सभापति हर्कजङ्ग बहादुर सिंहले सडककाे काम ढिलाे हुनुमा अहिलेको सरकारकै लापर्बाही भएको आरोप लगाउनुभयो । निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने भए पनि त्यसमा सरकारले चासाे नै नदिएकाे उहाँले बताउनुभयाे ।

४० किलोमिटर सडकको मात्रै ठेक्का सम्झौता भएकोमा अहिलेसम्म झण्डै ७० करोड रुपैयाँ खर्च भएको चैनपुर–ताक्लाकोट सडक खण्डका सब–इन्जिनियर विष्णुराज खातीले बताउनुभयो । यस सडक खण्डमा वर्षमा पाँच महिना मात्रै राम्रोसँग काम हुने त्योबाहेक अरू महिना काम गर्न गाह्रो हुने गरेका कारण ढिलाइ भएकाे स्वीकार गर्नुभयो । तीन महिना हिमपातका कारण काम बन्द हुन्छ, खातीले भन्नुभयो तीन महिना बर्खाको समयमा समस्या हुन्छ । अहिले कडा चट्टान भएका कारण पनि सडक निर्माणमा ढिलाइ भएकाे उहाँले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार