नेपालि काङ्ग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ले आफ्नै गृह जिल्ला तथा गृह वडा पुगेर शनिबार आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गर्नुभएको छ । उहाँले जयपृथ्वी नगरपालिका–१० का वडा सभापति दिवस स्नेही को रोहवरमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूबीच अनलाइनमार्फत सदस्यता अध्यावधिक गर्नुभएको हो ।
नेपाली काङ्ग्रेसले पार्टी र कार्यकर्तालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन अध्यावधिक प्रक्रिया सुरु गरेको जनाएको छ । काङ्ग्रेसले आफ्नै मोबाइलमार्फत फोन नम्बर, फेसबुक आइडी, टिकटक आइडी लगायत आवश्यक विवरण अपलोड गरी प्रविधिमैत्री ढङ्गले सदस्यता अध्यावधिक गरिएको जानकारी दिएको छ ।
यसै क्रममा सहमहामन्त्री रसाइलीले आज खप्तडछान्ना गाउँपालिकाका अगुवा कार्यकर्ताहरूसँग भेटघाट गर्दै वर्तमान परिस्थितिमा काङ्ग्रेस एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै सङ्गठन निर्माणमा केन्द्रित हुन निर्देशन दिनुभयो ।
उहाँले नेपाली काङ्ग्रेसले पार्टीलाई प्रविधिसँग जोड्दै नयाँ ढङ्गबाट आफूलाई अद्यावधिक गरिरहेको उल्लेख गर्नुभयो । साथै, २०४८ सालयता मुलुकमा भएका विकास निर्माणका थुप्रै आधारस्तम्भ काङ्ग्रेसकै नेतृत्वमा निर्माण भएको दाबी गर्दै त्यसलाई जनतामाझ प्रभावकारी रूपमा बुझाउन नसकिएको स्वीकार गर्नुभयो ।
सहमहामन्त्री रसाइलीले मुलुकले विकासका क्षेत्रमा ठूलो फड्को मारेको उल्लेख गर्दै केही कमजोरी आफ्नै पक्षबाट पनि भएको स्वीकार गर्नुभयो । ती कमजोरीलाई सुधार गर्दै रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।


124 पटक हेरिएको 







