खप्तडछान्ना गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

  खप्तड समाचारदाता  139 पटक हेरिएको

बझाङ — खप्तडछान्ना गाउँपालिका मा पूर्णखोप सुनिश्चितता, निरन्तरता तथा दिगोपनालाई संस्थागत गर्ने उद्देश्यसहित पालिका स्तरीय पूर्णखोप घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गाउँपालिकाका उपाध्यक्ष विष्णु थापा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बहादुर बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र रोकाया ले कार्यपत्र प्रस्तुत गर्दै पालिकाको स्वास्थ्य क्षेत्रको समग्र अवस्था, खोप सेवाको पहुँच, नियमित खोप अभियानको प्रभावकारिता तथा पूर्णखोप सुनिश्चितताका लागि गरिएका प्रयासबारे विस्तृत जानकारी दिनुभयो। उहाँले बालबालिकालाई खोपको पहुँचभित्र ल्याउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायस्तरको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

पूर्णखोप घोषणा कार्यक्रमलाई बालबालिकाको स्वास्थ्य सुरक्षा र स्वस्थ भविष्यसँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पूर्णखोप सुनिश्चितताले दादुरा, पोलियो, क्षयरोग लगायत विभिन्न घातक रोगबाट बालबालिकालाई सुरक्षित राख्नुका साथै स्वस्थ, सक्षम र रोगप्रतिरोधात्मक समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा खप्तडछान्ना ले बझाङ जिल्लामै पहिलो पूर्णखोप वडा घोषणा गर्न सफल भएको भन्दै स्वास्थ्य चौकी इन्चार्ज सिताराम थारु लाई विशेष सम्मान गरिएको थियो। साथै, खोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने सबै वडाका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सहयोगी व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले पूर्णखोप अभियानलाई घोषणा मै सीमित नराखी यसको निरन्तरता र दिगोपनाका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि, नियमित अनुगमन तथा प्रभावकारी स्वास्थ्य सेवा विस्तार आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमको सञ्चालन दिनेश बहादुर सिंह ले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार