खप्तडछान्ना गाउँपालिका मा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रलाई व्यवस्थित र दीर्घकालीन रूपमा सुधार गर्ने उद्देश्यसहित वास योजना निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।
ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC) तथा जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्यक्रम (LACC) को सहकार्यमा गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न भएको हो। उक्त कार्यशालाले आगामी दिनमा वास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने आधार तयार गरेको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले पालिकाभरि खानेपानी तथा सरसफाइसँग सम्बन्धित विद्यमान अवस्था, चुनौती र अवसरहरूबारे विस्तृत छलफल गरेका थिए। यसैक्रममा वास्तविक आवश्यकताको पहिचान गर्ने, घरधुरी तथा समुदायस्तरमा तथ्यांक संकलन गर्ने, र दीगो समाधानका लागि रणनीति निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ।
गाउँपालिका उपाध्यक्ष विष्णु थापाले वास योजना निर्माणले पालिकाभित्रका वास्तविक समस्या पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा नागरिकको जीवनस्तर सुधारमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सबै सरोकारवाला पक्षहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा पनि जोड दिनुभयो।
कार्यक्रमको सहजीकरण सहजकर्ता निरव बैद्यले गर्नुभएको थियो। उहाँले वास योजनाको महत्व, कार्यान्वयन प्रक्रिया तथा समुदायको भूमिकाबारे स्पष्ट पार्दै सहभागीहरूलाई योजनालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक सुझावहरू प्रस्तुत गर्नुभएको थियो।
यस प्रकारका योजनामार्फत खानेपानी तथा सरसफाइ क्षेत्रको समुचित विकास हुँदै जाने अपेक्षा गरिएको छ। स्थानीय तहको नेतृत्वमा सरोकारवाला निकायहरूको सहकार्यले वास क्षेत्रलाई थप व्यवस्थित, दिगो र समावेशी बनाउने विश्वास लिइएको छ।


20 पटक हेरिएको 







