बझाङ जिल्ला खेलकुद समितिमा नयाँ नेतृत्व: कमल बहादुर सिंहद्वारा पदभार ग्रहण

  शैलेन्द्र रोकाया  162 पटक हेरिएको

 

बझाङ — जिल्ला खेलकुद समितिका नव नियुक्त अध्यक्ष कमल बहादुर सिंहले आज एक औपचारिक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले सिंहको नाम अंकित नेमप्लेट हस्तान्तरण गर्दै सदरमुकाम चैनपुरस्थित कार्यालयमा पदभार ग्रहण गराएका हुन्।

पदभार ग्रहण कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा प्रदेश खेलकुद समितिले केही दिनअघि सिंहलाई जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो। कानुनी व्यवस्था अनुसार जिल्ला खेलकुद समितिमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित अन्य सदस्यहरू मनोनित गरिन्छन्। समितिमा ३ पुरुष, २ महिला र १ जना अपांगता भएका व्यक्तिसहित ६ जना सदस्य रहने प्रावधान छ। साथै जिल्ला प्रशासन कार्यालयबाट अधिकृतस्तरका १ जना प्रतिनिधि तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू पदेन सदस्यका रूपमा रहने व्यवस्था रहेको छ। यसरी समितिमा कुल १५ सदस्यीय कार्यसमिति रहने प्रावधान छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पुष्पलाल रोकायाले आफ्नो कार्यकालमा खेलकुद क्षेत्र र प्रशासनिक कार्यलाई व्यवस्थित बनाउने प्रयास गरेको उल्लेख गर्दै आगामी नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरे।

नव नियुक्त अध्यक्ष सिंहले अघिल्लो कार्यसमितिका सकारात्मक कार्यहरूलाई निरन्तरता दिँदै बझाङको खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रगतिको लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए। कार्यक्रममा समन्वय प्रमुख नर बहादुर बोहरा, नगर प्रमुख चेतराज बजाल तथा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सिंहको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै खेलकुद विकासमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

अध्यक्ष सिंह विगतदेखि नै खेल क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले २०६५ सालदेखि काठमाडौंमा अध्ययनरत रहँदा विभिन्न खेलकुद गतिविधिमा सहभागिता जनाएका थिए। साथै, छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बझाङबाट भलिबल टोलीको कप्तानीसमेत गरेका सिंह जिल्लामा एक प्रतिभाशाली खेलाडीका रूपमा परिचित छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार