दृष्टि फिर्ता दिलाउने अभियान: खप्तड छान्नामा १५४ जनाको आँखाको अपरेशन सफल

  खप्तड समाचारदाता  72 पटक हेरिएको

बझाङ, वैशाख ६ — खप्तड छान्ना गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरबाट १५४ जनाले सफलतापूर्वक अपरेशन सेवा प्राप्त गरेका छन्।

च्यारिटी फाउन्डेसन र DAK फाउन्डेसनको आर्थिक सहयोगमा, धनगढी नेत्रालय प्रा.लि., कैलाली तथा श्री कृष्ण आँखा अस्पताल प्रा.लि., टिकापुर, कैलालीको प्राविधिक सहयोगमा वैशाख ५ र ६ गते गाउँपालिका–पसल बगरमा शिविर आयोजना गरिएको हो।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा लामो समयदेखि आँखा समस्याबाट पीडित नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ। शिविरमा आँखा परीक्षण (स्क्रिनिङ) पश्चात् शल्यक्रियाका लागि योग्य बिरामीहरूको छनोट गरिएको थियो।

शिविरमार्फत १२५ जनालाई ओ.पि.डि. सेवा, ५० जनालाई औषधि वितरण, ३० जनालाई चस्मा वितरण गरिएको छ भने २५० जना बिरामी शल्यक्रियाका लागि छनोट भएका थिए। तीमध्ये १५४ जनाको सफल शल्यक्रिया सम्पन्न गरिएको हो।

गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले सुरुमा सबै वडामा आँखा शिविर सञ्चालन गरी बिरामीहरूको पहिचान गरिएको र जटिल समस्या भएका बिरामीहरूलाई गाउँपालिकामा बोलाएर शल्यक्रिया गरिएको जानकारी दिए। उनले शिविरमार्फत औषधि, चस्मा लगायतका सम्पूर्ण सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको बताए।

गाउँपालिकाका अनुसार, शिविरले ग्रामीण भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउँदै दृष्टि सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस्ता कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार