बझाङ — खप्तडछान्ना गाउँपालिकाको आयोजना तथा जिल्ला अस्पताल बझाङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क जनरल तथा प्रजनन स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट कुल ७८४ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन ।
शिविरमा आँखा सेवा, प्रयोगशाला परीक्षण, ओपिडी सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो। त्यसैगरी पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, पाठेघर खस्ने समस्याको उपचार, फिस्टुला स्क्रिनिङ, रिङ पेसरी सेवा, यौनजन्य संक्रमणको उपचार, नसर्ने रोग परीक्षण, गर्भवती तथा सुत्केरी सेवा, मानसिक स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा. सरोज कुमार यादव, एमडीजीपी डा. जीवन न्यौपाने, स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामी, जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेश रावल, जिल्ला अस्पतालका प्रयोगशाला प्रमुख जनकराज जैशी, ल्याब टेक्निसियन महेन्द्रबहादुर खड्का तथा अनमी जुनी खड्कासहितको प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो । खप्तडछान्ना गाउपालिकाका शाखा प्रमुख सुरेन्द्र रोकायाका अनुसार दुर्गम क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरले स्थानीय बासिन्दामा स्वास्थ्य सचेतना वृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुगेको उनले बताउनुभयो ।
स्थानीयवासीले शिविरबाट सहज रूपमा सेवा पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।


225 पटक हेरिएको 










