बझाङ। निर्वाचनको माहोल तातिँदै जाँदा सुदूरपश्चिमको बझाङ जिल्लामा २६ वर्षअघिको राजनीतिक विरासत फर्काउने दृढ संकल्पसहित नेपाली कांग्रेस मैदानमा उत्रिएको छ। पार्टीलाई एकढिक्का बनाउँदै अघि बढेको कांग्रेसको पक्षमा देखिएको जनलहरले जिल्लाको राजनीतिक तापक्रम थप बढाएको छ ।
पार्टीका सहमहामन्त्री तथा प्रतिनिधि सभा उम्मेदवार प्रकाश रसाइलि अन्य प्रतिस्पर्धीभन्दा स्वच्छ छवि, निस्कलंक व्यक्तित्व र बझाङका ज्वलन्त मुद्दा केन्द्रसम्म मुखरित गर्न सक्ने क्षमताका कारण मतदातामाझ फरक पहिचान बनाइरहनुभएको छ। निर्वाचन जितेपछि सम्भावित मन्त्रीको जिम्मेवारी सम्हाल्न सक्ने सम्भावना बोकेको नेताका रूपमा उहाँप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दो छ ।
विगतका निर्वाचनहरूमा आन्तरिक कलह र अन्तर्घातको मार खेप्दै आएको कांग्रेस यसपटक भने पूर्ण एकतासहित ‘वारपार’को लडाइँमा होमिएको छ। स्थानीय नेता–कार्यकर्तामा देखिएको उत्साह र प्रतिबद्धताले पनि पार्टीभित्रको समन्वय सुदृढ भएको संकेत गरेको छ ।
नेविसंघका जिल्ला अध्यक्ष उमेश जेठाराका अनुसार, “यो निर्वाचन केवल एउटा प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, डेढ वर्षपछि आउने स्थानीय तह र प्रदेश सभा निर्वाचनको आधार तय गर्ने अवसर पनि हो। त्यसैले प्रत्येक नेता–कार्यकर्ता आ–आफ्नो वडामा एजेन्डासहित मतदातामाझ पुग्नुभएको छ। आफ्नो उम्मेदवारलाई जिताउनु बाहेक अर्को विकल्प छैन ।
यतिबेला ‘जेनेरेशन–जी’ आन्दोलनको अपनत्व लिँदै कांग्रेसले नयाँ ऊर्जा, देश बदल्ने संकल्प र व्यवस्थामा देखिएका कमजोरी सुधार्ने स्पष्ट खाका सार्वजनिक गरेको छ। यही कारण पनि जिल्लाभर कांग्रेसप्रति व्यापक जनसमर्थन देखिन थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
दलित समुदायको हक–अधिकारका पक्षमा लामो समयदेखि वकालत गर्दै आउनुभएका उम्मेदवार रसाइलीले संसदमा उठाएका बझाङका विकास एजेन्डा र सम्बोधनका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जिल्लाका सबै पालिकामा विकास, समावेशिता र सुशासनको प्रतिवद्धता दोहोर्याउँदै उहाँले बझाङको आवाजलाई केन्द्रसम्म पुर्याउने अठोट व्यक्त गर्नुभएको छ ।
राजनीतिक विभाजन र निराशाको बीचबाट आशाको किरण खोजिरहेको बझाङ यतिबेला फेरि एकपटक इतिहास दोहोर्याउने मोडमा उभिएको छ। २६ वर्षअघिको विरासत फर्काउने अभियान सफल हुन्छ कि हुँदैन भन्ने निर्णय अब मतदाताको हातमा छ—तर माहोलले भने कांग्रेसको पक्षमा नयाँ लहर संकेत गरिरहेको छ।


325 पटक हेरिएको 










