खप्तडछान्ना गाउँपालिकाको केन्द्र पसलबगरमा व्यवस्थित खेल मैदान निर्माण भएसँगै पालिकामा खेलकुद विकासको नयाँ अध्याय सुरु भएको छ। प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त खेल मैदानमा अहिले प्रतिष्ठित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको छ।
गाउँपालिका र खेलकुद विकास समितिको पहलमा स्थानीय श्रेष्ठ परिवारले उदारतापूर्वक जग्गा दान गरेपछि गत आर्थिक वर्षदेखि मैदान निर्माण कार्य सुरु गरिएको थियो। सीमित स्रोत–साधनका बीच छोटो समयमै सम्पन्न भएको यो पूर्वाधारले अब पालिकाका युवायुवतीलाई आफ्नै घरआँगनमै खेल प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ।
गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले पालिकामा व्यवस्थित खेल मैदान बनाउने दीर्घकालीन सपना आज साकार भएको बताउँदै यसले युवाहरूको खेल जीवनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले जग्गादाता श्रेष्ठ परिवारका बिनकला श्रेष्ठ, धौली देवी श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ र चन्द्र बहादुर श्रेस्ठले जग्गादान गर्नुभएकाे छ । जग्गादाता परिवार लाइ गाउपालिकाले दोसल्ला ओडाइ सम्मान गरेको थियो ।
प्रदेश सरकार, खेलकुद विकास समिति तथा सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
नवनिर्मित मैदानमा चार दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेल भावना, प्रतिस्पर्धात्मक क्षमता र आपसी सद्भावलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। गाउँपालिकाको यो पहलले जिल्लामै खेलकुद विकासका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।


459 पटक हेरिएको 








