मतदातामा आशा जगाउँदै प्रकाश रसाइली,

  खप्तड समाचार दाता  284 पटक हेरिएको

बझाङ — नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा बझाङ प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली यतिखेर जिल्लाका दुर्गम गाउँबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। उनले लोकतन्त्रको सुदृढीकरण, स्पष्ट नीति, नयाँ सोच र जनमुखी कार्यक्रमसहित कांग्रेस सुधारको प्रतिबद्धता लिएर गाउँ–गाउँ पुगेको बताएका छन्।

जेन्जी आन्दोलनपछि सुस्ताएको राजनीतिक वातावरणलाई पुनः सक्रिय बनाउँदै रसाइलीले कांग्रेसले आत्मसमीक्षा गर्दै जनताको विश्वास पुनर्स्थापित गर्ने अभियान थालेको उल्लेख गरे। “हामी जेन्जी आन्दोलनको भावना अनुरूप सुधार र सुशासनको प्रतिबद्धतासहित जनताको बीचमा आएका छौं,” उनले भने, “लोकतन्त्र जोगाउन र जनजीविकाका मुद्दा सम्बोधन गर्न कांग्रेसप्रतिको भरोसा अझै जीवित छ।”

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बझाङले घरदैलो अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा केदारस्युँ गाउँपालिका–५ अन्तर्गत बाँझ, सैन्स्युँ, पाउटा, सेडिखोला तथा वडा नं. ४ को सुदाडा लगायतका बस्तीहरूमा पुगेर उम्मेदवार रसाइलीसहितका नेता–कार्यकर्ताले मतदातासँग भेटघाट गरेका छन्।

घरदैलो अभियानका क्रममा रसाइलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा उठेका गुनासा तथा सुझाव सुने। स्थानीयले आधारभूत पूर्वाधार सुधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवा र दिगो विकासका कार्यक्रमप्रति विशेष अपेक्षा व्यक्त गरेका थिए।

अभियानमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। पार्टीले आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार