डडेल्धुरा । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्न नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश रसाइली, एमालेका उम्मेदवार ऐन महर र नेकपाका उम्मेदवार मीन कुँवर डडेल्धुरा अस्पताल पुगेका छन्।
अस्पताल पुगेर उनीहरूले दुर्घटनामा घाइते बिरामीहरूको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक सहयोगबारे चिकित्सक र अस्पताल प्रशासनसँग जानकारी लिएका थिए। सो क्रममा घाइते तथा उनीहरूका परिवारजनसँग भेटघाट गर्दै कांग्रेस उम्मेदवार रसाइलीले यस दुःखद घटनाले सबैलाई गहिरो पीडा दिएको उल्लेख गर्दै पीडितको उपचार, उद्धार र राहतमा कुनै कसर बाँकी नराखिनु पर्ने धारणा व्यक्त गरे। नेता रसाईलीले घाईतेहरुलाई रिफर गर्नका लागी अबस्यक समन्वय , उपचारका लागी सहजीकरण गर्नु भएको छ ।
त्यसै क्रममा रसाइलीले बस दुर्घटनामा घाइते भएकाहरूको उचित उपचार, प्रभावकारी उद्धार र राहतको व्यवस्था गर्न सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसँग आग्रह गरेका थिए। सो आग्रहसम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
मुख्यमन्त्री शाहले रसाइलीको आग्रहलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आजै प्रदेश सरकारको तर्फबाट महत्वपूर्ण निर्णय गरिएको जानकारी दिएका छन्। प्रदेश सरकारको निर्णयअनुसार बस दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरिनेछ भने घाइतेहरूको देशभरका जुनसुकै सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री शाहले शुक्रबार बिहानै उक्त निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाइएको छ। प्रदेश सरकारको यो निर्णयले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ।
यसैगरी, बझाङको बित्थडचिर गाउँपालिकाले पनि मृतक प्रत्येक परिवारलाई एक–एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष अम्मर महरले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेताहरूले यस्ता दुःखद घटनाहरू पुनः नदोहोरियोस् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। यसैबीच एमाले उम्मेदवार एन. महर र नेकपा उम्मेदवार मीन कुँवर दुर्घटनास्थलसमेत पुगेका थिए।
उल्लेखनीय छ, बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा बाबु–छोरा, सहोदर दाजुभाइ, भतिज र ज्वाइसहित १३ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन्।


431 पटक हेरिएको 







