बागेश्वरी असल शासन नेपाल (बास) बझाङका अध्यक्ष तथा नेपाल टेलिभिजन बझाङ जिल्ला संवाददाता रमेश सिंहले आफ्नी दिवंगत आमाको सम्झनामा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्।
स्वर्गीय आमाको चौथो स्मृति दिवसको अवसर पारेर सिंहले बिरामीहरूप्रति सहानुभूति प्रकट गर्दै फलफूल वितरण गरेका हुन्। उनले यो कार्य आमाबाट पाएको माया, सेवा र मानवियताको शिक्षाबाट प्रेरित भएर गरेको बताए।
“आमाले सधैं दुःखी र असहायप्रति माया र सहयोग देखाउन सिकाउनु भएको थियो,” सिंहले भावुक हुँदै भने, “आज उहाँको सम्झनामा उहाँकै बाटो पछ्याउने प्रयास गरेँ, मनमा केही सान्त्वना मिल्यो।”
सिंहको यस मानवीय पहलले अस्पतालमा रहेका बिरामी तथा उनीहरूका आफन्तमा सकारात्मक सन्देश दिएको छ। अस्पतालका कर्मचारीहरूले पनि उनको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।
सामाजिक उत्तरदायित्व र आत्मीय भावनाले प्रेरित यो सानो प्रयासले समुदायमा सहानुभूति र सेवाको भावना बलियो बनाएको छ।


256 पटक हेरिएको 








