नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न

  रेडियो खप्तड आवाज  147 पटक हेरिएको

बझाङ, असार १: नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि बझाङ जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि सत्यराज सिंहले २०८१ पुस १६ गतेदेखि २०८२ असार १ गतेसम्मको अवधिमा जिल्लामा भएका ३३ वटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेखीकरण गरिएको जानकारी दिनुभयो । तीमध्ये बलात्कारका १०, बहुविवाहका ५, बालविवाह १, आत्महत्या दुरुत्साहन १ र घरेलु हिंसाका १६ वटा घटना रहेका छन् ।
समीक्षा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले जिल्लामा मानव अधिकारको यथार्थ चित्रण गर्न इन्सेकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले अघिल्ला वर्षहरूभन्दा यो वर्ष घरेलु हिंसाका घटनामा केही कमी आएको देखिएको भन्दै जिल्लाको मानवअधिकारको अवस्थाको सकारात्मक सन्देश जाने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले कानुन मात्र कडाइले पुग्ने नभई कानुनी सचेतना र न्यायमा सर्वसाधारणको पहुँच वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकारकर्मी संस्था र स्थानीय सरकारबीच समन्वय गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्र सिंह ठगुन्नाले अपराध न्यूनीकरणका लागि समुदायमै पुगेर सचेतना फैलाउने अभियान जारी रहेको बताउनुभयो ।
उहाँले मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मानव अधिकार एलाइन्सका प्रतिनिधिहरू, बाल क्लबका प्रतिनिधी, पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार