बझाङमा न्यून गुणस्तरको जाँडरक्सीमाथि प्रतिबन्ध : जेठ १० पछि बिक्री गरिएको पाइएमा कडा कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारीको चेतावनी

  रमेश बाेहरा  360 पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशिको नेतृत्वमा आज बझाङका विभिन्न स्थानीय बजारहरूमा विशेष अनुगमन गरिएको छ। अनुगमन टोलीले तमैल, भाडे, झनाना, झोता, देउरा र बागथला बजारमा पुगेर प्लास्टिकमा प्याक गरिएको न्यून गुणस्तरकाे जाँडरक्सी तथा घरेलु मदिराको अवस्था अवलोकन गरेको थियो।
टोलीले सम्बन्धित व्यापारीहरूलाई जेठ १० गतेभित्र यस्ता मदिराहरूको व्यवस्थापन गर्न निर्देशन दिएको छ। प्रशासनले स्पष्ट रूपमा चेतावनी दिएको छ “जेठ १० गतेपछि पनि यस्ता मदिरा बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिनेछ।”

सहायक प्रमुख जिल्ला अधिकारी जोशिले यस्ता मदिराका कारण घरेलु हिंसा, सामाजिक झैझगडा र विकृति बढेको भन्दै तत्काल नियन्त्रण आवश्यक रहेको बताउनुभयो।
यसैबीच, केदारस्यु गाउँपालिका–१ स्थित देउरा बजारमा सञ्चालनमा रहेको सुरेश मेडिकल स्टोरलाई समेत नियमविपरीत सञ्चालन गरेको पाइएपछि ७ दिने अल्टिमेटम दिइएको छ। मेडिकल स्टोर एउटै व्यक्तिको नाममा दर्ता भए पनि अर्को व्यक्तिले चलाएको पाइएपछि कानुनी प्रक्रियामा जाने चेतावनी दिइएको हो।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष डी.बी. बिष्ट, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
साथै, जिल्लाभित्र चल्ने रातो नम्बर प्लेट भएका सवारीसाधनहरू अनियमित रूपमा सञ्चालनमा रहेको पाइएपछि तिनविरुद्ध समेत कानुनी कारबाही गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार