बझाङ : बझाङमा एक गाउँपालिका कर्मचारीले विद्यार्थीलाई निशुल्क ट्युसन पढाउँदै आएका छन् । जिल्लाको मष्टा गाउँपालिकाका योजना शाखा प्रमुख, सव इन्जिनियर विक्रम खड्काले आउँदै गरेको एसइइ परीक्षालाई लक्षित गरेर पालिका भित्रका विद्यार्थीहरुलाई निशुल्क ट्युसन पढाउँदै आएका हुन् ।
अहिले उनी बिहानको समय कक्षा १० का विद्यार्थीहरूलाई निशुल्क अङ्ग्रेजी विषयको ट्युन पढाउदै आइरहेका छन्। एसइइका विद्यार्थीलाई लक्षित गरेर निशुल्क ट्युसन पढाउदै आएका उनले परिक्षाको समय अङ्ग्रेजी विषयमा कम अंक ल्याउने र फेल हुने समस्यालाई समाधान गर्ने मुख्य उद्देय रहेको बताए। ‘कतिपय विपन्न परिवारका बच्चाहरू पैसा तिरेर कोचिङ कक्षा पढ्न पाएका हुँदैनन्, कुनै विद्यार्थी अङ्ग्रेजीमा कमजोर हुन्छन् अथवा भनौँ फेल हुन्छन्’, उनले भने,‘त्यही समस्यालाइ समाधान गर्ने बिकल्पको रुपमा यो अभियान सुरू गरेको हो।’
अहिले उनीसँग मष्टा गाउँपालिका – २ को शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरू ४० जना निशुल्क ट्युसन पढ्न आउने गरेको उनले बताए। पुस १ गते देखि शुरु गरेको ट्युसन कलास चैत्रसम्म नै चल्ने उनले बताए । आफ्नो पेसागत जिम्मेवारी निभाए बापतबाट आएको रकम (तलब)ले जीवन धानिरहेको बताउँदै उनले जीवन पैसाले चल्ने भन्दा पनि आत्मसन्तुष्टि र खुसी भए जीवन रमाइलो हुने सुनाउँछन्।


3484 पटक हेरिएको 










