बझाङ : नेपाल पत्रकार महासङ्घ बझाङ शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।
शुक्रबार भएको मतदानमा अध्यक्षका उम्मेदवार ढेप बहादुर विष्ट डिबि र ललित बहादुर सिंहले समान ३३ मत प्राप्त गरेकामा दुई उम्मेदवारले आधा–आधा कार्यकाल जिम्मेवारी लिने सहमति भएको छ ।
आज भएको निर्वाचन समितिको निर्णय अनुसार गोलाप्रथा गर्दा प्रारम्भिक मितिदेखि एक वर्ष छ महिनाको अवधिसम्म विष्ट र त्यसपछि सिंहले अध्यक्षको जिम्मेवारी सम्हाल्ने उल्लेख गरिएको निर्वाचन समितिका संयोजक शैलेन्द्र रोकायाले जानकारी दिए ।
विष्ट प्रेस युनियन र प्रेस सेन्टर तथा सिंह प्रेस चौतारी, प्रेस युनियन र समाजवादी प्रेस सङ्गठनका तर्फबाट उम्मेदवार बनेका थिए । समितिको उपाध्यक्षमा रुपक खड्का र तरुणा जोशी, सचिवमा प्रताप वली, सहसचिवमा बिर्ख बोहरा र समिर खत्री, कोषाध्यक्षमा दोरेन्द्र खड्का विजयी भएका छन् । सदस्यमा कल्पना उपाध्याय, शिवजी मण्डेल, शुभकामना कुमारी रोकाया, सुरेश धामि, सत्यराज सिंह र गगन रावत निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय परिषद् प्रतिनिधिमा जगदीश रोकाया र जयभक्त जोशी निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश परिषद् प्रतिनिधिमा शैलेन्द्र रोकाया, दिपक भण्डारी र राजेन्द्र बहादुर सिंह निर्वाचित भएका छन् । यहाँ ७४ मतदाता रहेकामा ६६ मत खसेको थियो ।


325 पटक हेरिएको 










