बझाङ । आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन्। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात् १८ दशमलव ९४ प्रतिशत छ। यसैगरी, व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब बजेट उल्लेख गरिएको छ।
संघीय सरकारले सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमलाई भने उपेक्षा गरिएको छ। केही पुराना योजनाबाहेक नयाँ योजना बजेटमा समावेश गरिएको छैन। सुदूरपहाडी जिल्लाहरुमा त झन एउटा पनि नयाँ योजना समेटिएको छैन् ।
आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा महाकाली सिँचाई आयोजना तेस्रो चरणको मुल नहर र त्रिभुवनवस्ती लगायत शाखा नहर विस्तारको कार्य अगाडी बढाइने उल्लेख छ।
ब्रह्मदेव क्षेत्रको शाखाबाट एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सेवा थप विस्तार गरिने विषय बजेटमा समावेश गरिएको छ। सो आयोजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको हो। रानी–जमरा–कुलरिया सिँचाई आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार तीन सय हेक्टर शाखा नहर सञ्चालन गरी सिँचाई सुविधा उपलब्ध गराइने विषय बजेटमा उल्लेख छ।
लम्की मुल नहर अन्तर्गत शाखा नहर निर्माण गरिने छ। सो आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने भएको छ। धनगढीमा संघीय बजेटमा सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने विषय पनि उल्लेख गरिएको छ। महाकाली करिडोर र सेती लोकमार्ग स्तरोन्नती गरिनेछ। प्रादेशिक राजधानीमा मौलिक सहर विकास गर्न संभाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ। यसका साथै दोधारा–चाँदनीमा नयाँ नमुना वस्ती निर्माण गरेर आर्थिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गरिने लगायतका विषय बजेटमा समावेश गरिएको छ।
बजेट वक्तव्यमा डडेल्धुरा अस्पताललाई ५ सय शय्या क्षमतामा सञ्चालन गर्ने विषय उल्लेख गरिएको छ। तर बजेट उल्लेख गरिएको छैन। खेलकुदतर्फ फाप्ला क्रीकेट मैदानको निर्माण गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, २१० मेगावाट क्षमताको चैनपुर–सेती जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने, साइपालमा बैंक स्थापना गर्ने, सेती करिडोर निमार्ण गर्ने, कैलालीमा दोदोधारा–बरेली ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने विषय समेटिएको छ।बजेट वक्तव्यमा कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाउने, धनगढी विमानस्थल स्तरोन्नति र बैतडीको पाटन विमानस्थललाई निजी क्षेत्रको सहकर्यमा प्याराग्लाइडिङ्ग, प्यारासुट, स्काइ डाइभिङ र अल्ट्रालाइट जस्ता मनोरञ्जनात्मक साहसिक पर्यटनको लागि उपयोग गरिने उल्लेख गरिएको छ। यसका साथै दैजी–छेला औद्योगिक क्षेत्र र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रारम्भ गरिने विषयमा बजेटमा राखिएको छ ।


541 पटक हेरिएको 








