बझाङ, चैत्र ३० गते । नयाँ वर्षलाई स्वागत गर्न मनाइने विषु पर्वको रमझमले बझाङ जिल्लामा चहलपहल बढेको छ । नयाँ वर्षको स्वागत र गएको बर्षको विदाइ स्वरुप यहाँका मानिसहरुले विषु पर्वलाई विशेष रुपमा मनाउने गरेका छन ।
रोजगारीका लागि भारत गएका बझाङीहरु विषु पर्व अर्थात् नयाँ वर्षमा घर फर्केका छन् । नयाँ वर्षको अवसरमा जिल्लाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम पनि गरीदै छन् । भोली वैशाख १ गते गाउँ गाउँमा लिङगो (कांकर) गाड्ने गरिन्छ ।
पराई घर गएका दिदीबहिनीहरु माइती घरमा जाने एवं आफन्त इष्टमित्र सबै एकै ठाउँमा भेला हुने भएकाले चैत्र मसान्तको दिन नै विभिन्न परीकारहरु पकाउने चलन छ । वर्ष भरीको कामको चटारोलाई बिर्सेर यस पर्वमा यहाँका स्थानियहरु रमाउने गर्दछन् । नयाँँ वर्ष मनाउनकै लागी यहाँका स्थानीयहरुले चैत्र महिनाभर घर लिपपोत गरेका हुन्छन् ।
विषु पर्व सकिए पछि अन्न भित्रयाएर फेरी रोजगारी खोज्न भारत जाने परम्परा रहेको मष्टा गाँउपालिकाका दिपेन्द्र कठाएतले बताए । यसैबिच यस पर्वमा विष झार्ने भन्दै देवर भाउजु बिचमा सिस्नो लगाएर रमाइलो गर्ने प्रचलन केही गाउँठाउँहरुमा रहेको छ ।
वैसाख १ गतेको दिन बिहान झिसमिसे मै उठेर आकाशका तारा हेरेमा बर्ष भरी नै सर्प नदेखिने र सर्पले दुख नदिने जनविश्वास समेत रहेको छ । विषु पर्व मनाउनकै लागी अहिले विभिन्न सरकारी तथा गैर सरकारी संघ संथामा कार्यरत कर्मचारीहरु समेत घरतिर गएका छन् ।


993 पटक हेरिएको 









