आगामि वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जम्मा १२ जनाले उम्मेदवारी दर्ता गराएकोमा आज एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
कार्यालयका अनुसार नेपाली जनता पार्टीका अशोक सुनारले मात्र फिर्ता लिएका हुन् । अब ११ बटा दल निर्वाचनमा भिड्ने निश्चित भएको छ । यता सत्ता गठबन्धनका दलले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै फोन गरेर एमाले उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएपनि बझाङमा त्यसको अवज्ञा गरिएको छ । माओवादीका उम्मेदवार जनक बुढाले मंगलबार दिउँसो उम्मेदवारी फिर्ता लिने तयारी भएपनि अन्तिम समयमा रोकिएपछि दुवै दल बिच चुनावी प्रतिस्पर्धा हुने भएका हो । उनको उम्मेदवारी माओवादीका उपमहासचिव जनार्दन शर्माले रोकेको चर्चा चलेको छ । शर्मानिकट मानिएका बुढा सुदूरपश्चिम प्रदेश कमिटीको सचिव पनि हुन् ।
निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिने समय आज मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो । तर गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले बताए । उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारहरुलाई मंगलबार नै निर्वाचन चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले जानकारी दिएका छन् ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए । रास्वपाले उम्मेदवारी नै दर्ता गरेको छैन । नेपाली कांग्रेसले अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।


286 पटक हेरिएको 









