उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो संयोजक, बझाङमा एनपी साउद

  कल्पना उपाध्याय  371 पटक हेरिएको

बझाङ, चैत्र २५ गते । नेपाली कांग्रेसले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । बझाङ प्रदेश सभा १ का लागि पूर्व परराष्ट्र मन्त्री समेत रहेका कन्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेता एनपी साउद संयोजक बनेका छन् । बझाङ १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

बझाङ १ (क) मा कांग्रेस आफ्नो विरासत जोगाउने ध्यानमा छ भने अन्य दलहरू पहिलेको नतिजा उल्ट्याउने प्रयासमा छन् । त्यसमाथि मिसन–०८४ चलाइरहेका दलहरूले त झन् उपनिर्वाचनलाई झनै महत्त्व दिएका छन् । उपनिर्वाचन जितेर देशभर नयाँ सन्देश दिने दलहरूको तयारी छ । बझाङमा २०५६ सालसम्म कांग्रेसको बलियो पकड थियो । त्यसपछिका निर्वाचनमा भने एमाले हाबी हुँदै आयो । गत निर्वाचनमा भने कांग्रेसले माओवादी केन्द्रको साथ पाएका कारण जीत निकालेको थियो । तर एमाले, कांग्रेस र माओवादी केन्द्रले अलग–अलग उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्दी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । यस आधारमा उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसले यस पटक स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा अभिषेककुमार सिंहलाई उम्मेदवार बनाएको छ भने एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा कांग्रेसलाई सहयोग गरेका माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले यस पटक आफ्नैै उम्मेदवार उठाएका छन् । माओवादी केन्द्रबाट जनक बुढा र समाजवादीबाट दिलबहादुर सिंहको उम्मेदवारी परेको छ । यहाँ १२ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार