प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । बझाङमा कांग्रेसबाट अभिषेक बहादुर सिंह, एमालेबाट दमन भण्डारी, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा र राप्रपाबाट किशोर खड्काबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैबिच जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि बझाङमा उम्मेदवारी दिने निर्णय गरेको छ । विहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यता पार्टि स्थापना भएको छोटो समयमै पृथक पहिचान बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टिका सुदूरपश्चिम प्रवत्ता सन्तोष जोशीका अनुसार प्रदेश संरचनाबारे पार्टीको पुर्नसंरचित नितिको आधिकारीकता आउन बाँकि रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।
चुनावी कार्यतालिका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । मुख्य दलहरु उम्मेदवार टुङ्गो लगाए सँगै प्रचार अभियानमा जुट्ने तयारीमा छन् । प्रचार अभियान अन्र्तगत नेकपा एसले यहिँ चैत्र २९ गते र नेकपा एमालेले २५ गतेबाट सुरु गर्दैछन् । यसैबीच निर्वाचन आयोगले उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रदेशसभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।
बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १, बाट निर्वाचित नेपाली काग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भए पछि यहाँ उपनिर्वाचन हुन लागेको छ । सुदूरपश्चिम सरकारको आन्तरिक मामिलामन्त्री भएको बेला गृहजिल्ला आउँदै गर्दा गत असारमा उनी सवार गाडी दुर्घटना भएको थियो ।


363 पटक हेरिएको 









