बझाङ प्रदेश सभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेसले अभिषेक सिंहकोे नाम सिफारिस गरेको छ ।
१५ बैशाखमा हुने उपनिर्वाचनका लागि पार्टिले उम्मेदवार टुङ्ग्याउन तीन दिनदेखि नियमित छलफल गरेकोमा आज अभिषेक सिंहको नाम अघि सारेको हो ।
उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अभिषेक सिंह सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गीय पृथ्वी बहादुर का छोरा तथा नेपाली काँग्रेसका युवा नेता हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका अभिषेक बहादुर सिंह २०५५ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर चितवनमा सहभागी भएका थिए।
२०७२ सालमा नेपाल तरुण दल बझाङ क्षेत्र नं १ (क) क्षेत्रीय सभापति रहेका सिंह नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा म्यानअफ द ईलेक्सन भएर विजयी भएका थिए। ग्रामीण विकासमा स्नातकोत्तर गरेका सिंहले बाल्यकाल देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए।सिंहले भने “बुवाले विकासका लागी देखेका सपना त छँदै छन्, सुखी बझाङ, संवृद्ध बझाङ्गी जनता बनाउने मेरो लक्ष्य रहेको छ।”
बझाङ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म एमालेबाट दमन भण्डारी, नेकपा माओवादि केन्द्रबाट जनक बुढा र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाइसकेको छ ।


728 पटक हेरिएको 









