बझाङमा भोली चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पुरा भएको छ । जिल्लाका १९ वटै परीक्षाकेन्द्रमा एसईईको तयारी पुरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले जानकारी दिनुभयो ।
बझाङबाट यस वर्षको एसईई परीक्षामा ४ हजार बढी परीक्षार्थी सहभागि हुँदै छन् । यस वर्षको एसईई परीक्षामा जिल्लाभरबाट ४ हजार ३ सय ८० परीक्षार्थी सहभागी हुने छन् । नियमितर्फका ४ हजार ४ सय ४४ जना, ग्रेड वृद्धितर्फका ३३ र प्राविधिक धार तर्फका ३ सय ३ जना गरि जम्मा ४ हजार ३ सय ८० जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सूचना अधिकारी सिंहले बताउनुभयो ।
१९ ओटा केन्द्रबाट परीक्षा सञ्चालन हुने छ । गत वर्ष जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालनका लागि तोकेका १९ ओटा केन्द्र नै अहिले पनि कायम गरिएका बताइएको छ । परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापक नै केन्द्राध्यक्ष रहने छन् । उनिहरुलाई केहि दिन अगाडी अभिमुखिकरण तालिम दिइएको थियो । परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित विद्यालयमा दुई साता अघि नै पुगिसकेका थिए ।
परिक्षार्थीहरुलाई भयरहित वातावरणमा निर्धक्क र शान्तिपूर्ण वातावरणमा परीक्षामा सहभागी हुन शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्रमुख सुरेन्द्र कठायतले आग्रह गर्नुभएको छ । परिक्षार्थीहरुलाई परीक्षा दिन जाँदा साथमा मोबाइल, डिजिटल क्यालकुलेटर नलगिदिन समेत कठायतले आग्रह गर्नु भएको छ । यदि त्यस्तो पाइएमा कानुन बमोजिम कारबाही हुने समेत उहाँले बताउनु भयो ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ । यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने प्रावधान राखिएको छ। यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको हो । यस वर्ष परीक्षामा देशभरबाट ५ लाख १४ हजार ६७० परिक्षार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


362 पटक हेरिएको 









