आज फागु अर्थात् होली पर्व, हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

  कल्पना उपाध्याय  326 पटक हेरिएको

आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ ।

सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भोलि सार्वजनिक बिदा छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।

केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै आएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर चार, पाँच वर्ष यता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।

फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न यो पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना सन्देशमा उल्लेख छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार