बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी गरिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको एक पसलमा आज बिहान आगलागि गरिएको हो ।
स्थानिय हिक्मत बहादुर रोकायाले सञ्चालन गरेको किराना पसलमा अज्ञात व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए । प्रहरी निरीक्षक चौधरीका अनुसार भुइतले तीन कोठे उक्त पसलमा बुधबार बिहान १० बजे अपरिचित व्यक्तिले आगजनी गरेको अनुसन्धानबाट खुलेको छ ।
आगलागिबाट पसलमा रहेका दुई वटा प्रेसरकुकर लगाएत अन्य सामानहरु जलेर नष्ट भएका छन् भने पसलमा आशिंक क्षति पुगेको छ । यस्तै पसलबाट चाउचाउ बिस्कुट लगाएतका सामानहरु समेत चोरी भएको बताइएको छ । अहिलेसम्म आगजनी गर्ने व्यक्तिको पत्ता नलागेको र यस विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।


477 पटक हेरिएको 









