पनाल्त र कुवामा चामल कुहिदै, साइपालमा खाद्यान्न अभाव

  खप्तड समाचारदाता  248 पटक हेरिएको

बझाङ । वर्षायाम सुरु हुँदासमेत पटक पटक खाद्यान्न सङ्कट भोग्दै आएका बझाङको उत्तरी भेग साइपाल गाउँपालिकाका बासिन्दा फेरि खाद्यान्न अभावको मारमा परेका छन्।

वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पानाल्त र कुवामा गोदाममा कुहिने अवस्थामा छ। साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था भएको छ। साइपाल गाउँपालिकाको काँडामा रहेको डिपो कार्यालयमा रहेको सबै खाद्यान्न वितरण भएपछि गाउँपालिकामा एक महिनादेखि खाद्यान्न अभाव भएको हो।

चीनसँग सीमा जोडिएको जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि पैसा भएर पनि किनेर खानेसम्म अवस्था छैन। हिमाली भेग भएकाले खाद्यान्न उत्पादनसमेत न्यून मात्रामा हुने र यातायात सञ्जालसमेत नजोडिएकाले साइपाल गाउँपालिकामा बर्सेनि खाद्यान्न अभाव हँदै आएको छ।

गत आर्थिक वर्षमा सरकारले ढुवानी अनुदान दिएको दुई हजार पाँच सय क्विन्टलमध्येको ३० क्विन्टल चामल गरेर ४३० क्विन्टल चामल अझै तल्कोट गाउँपालिकाको कुवामा कुहिने अवस्थामा गाईबस्तुलाई घाँस राख्ने ठाउँमा अलपत्र फालिएको छ।  स्थानीय शेरबहादुर बोहराका अनुसार गाउँमा भोकभरी हुने अवस्था छ। यता बिच बाटोमा अलपत्र फालिएको चामल कुहिँदै छ।

उहाँले यो विषयमा स्थानीय सरकारसमेत गैरजिम्मेवार भएको दुःखेसो गरे। तलकोट गाउँपालिकाको कुवामा रहेको चामल गाईबस्तुलाई घाँस राख्ने गोठानमा राखेका कारण केही चामल कुहिएको स्थानीयले बताएका छन्। काँडामा रहेको खाद्यको डिपो कार्यालयबाट वितरण गरिने मोटो चामल गएको वैशाखयता कहिलेकाहीँ मात्र ढुवानी गरिने भएका कारण त्यस क्षेत्रमा खाद्यान्न अभाव भएको हो। साइपाल गाउँपालिकाका सबै वडामा अहिले खाद्यान्न अभाव भएकाले स्थानीयले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुन लागेको स्थानीयवासीको गुनासो छ। साइपाल गाउँपालिकाको धुलीका स्थानीय डबल रोकायाले भने, “अहिले काँडा, धनौन, धुली, न्यूना, बलौडीलगायत गाउँपालिकाका सबै बस्तीमा चामलको अभाव छ।”उनले भने, “हामीले खाद्यान्नका लागि बारम्बार पहल गरिरहेको भए पनि त्यसको कुनै पनि निकायबाट सुनुवाइ भएन। यस क्षेत्रमा भोकमरी हुने अवस्था पनि आउन सक्छ। पैसा भएर पनि चामल पाउने अवस्था छैन।”उनका अनुसार गाउँमा पनि अहिले पैँचो मागेर एक मुठी चामलसँगै आलु पकाएर स्थानीयले छाक टारी रहेको अवस्था छ। फाट्टफुट रूपमा स्थानीय व्यापारीले खाद्यान्न ल्याएको भए पनि अनुदानको खाद्यान्नभन्दा तीन गुणा बढी मूल्यमा किन्नुपर्ने अवस्था आएको छ।

ठेकेदारले चरम लापरबाही गर्ने र स्थानीय सरकारसमेत गैरजिम्मेवार भएका कारण साइपाल गाउँपालिकाका नागरिक भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको आरोप छ। सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरीमा रहेको साइपाल गाउँपालिका यातायात सञ्जालसँग नजोडिएकाले खाद्यान्न ढुवानी महँगो हुने भएकाले सरकारले ढुवानीमा अनुदान दिएर सर्वसुलभ रूपमा खाद्यान्न उपलब्ध गराउँदै आएको थियो। वर्षा याम सुरु भएसँगै पैदल हिँड्ने बाटो ठाउँ ठाउँमा अवरुद्ध हुँदा खच्चडबाट ढुवानी गर्न निकै कठिन भएको छ।

गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले गत वर्षको कोटाको चामल सक्किएर गाउँपालिकाले थप चार सय क्विन्टल चामल खरिद गरेर बाटौमै पनाल्तको गोदाममा रहेको बताए।  उहाँले गाउँमा खाद्यान्न अभाव भएको स्वीकार गर्दै ठेकेदारको लापरबाहीका कारण यस्तो भएको बताए। ढुवानीको जिम्मा पाएको जाल्पादेवी सप्लायर्सका देवराज जोशीले खच्चड अभावका कारण ढुवानीमा समस्या भएको बताइन्छ। उनले गएको वर्षको ३० क्विन्टल र गाउँपालिकाले खरिद गरेको चामल बिचबाटोसम्म पुगिसकेको बताए। खाद्य सङ्कटका हिसाबले साइपाल गाउँपालिका उच्च जोखिममा रहेको छ। हाल बझाङका तीनवटा डिपो कार्यालय र सदरमुकाम चैनपुर नजिकै रहेको देबलबाट खाद्यान्न वितरण हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार