बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन : रोकथाम र न्यूनीकरणमा जोड

  शुभकामना रोकाया  247 पटक हेरिएको

बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ११ डाँडा गाउँमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको छ । आज प्रगतिशील युवा समाजको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र जयपृथ्वी नगरपालिका वडा नं. ११ को समन्वयमा नाननदेव आधारभूत विद्यालयमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा बालविवाह रोकथाम गर्न स्थानीय सरकारको भुमिका, अभिभावक, बालबालिकाको भुमिका, बालबालिकाको अधिकार सम्बन्धि कानुनी प्रावधान, व्यवस्था, यसको रोकथाम र न्यूनीकरण गर्न के के गर्नुपर्छ भन्ने बिषयमा जानकारी गराइएको छ ।

श्रव्य दृश्य प्रदर्शन कार्यक्रम मार्फत समुदायमा सचेतना फैलाउन र बालविवाह न्यूनीकरण तथा बालविवाह मुक्त वडा बनाउने उदेश्यले स्थानीय निकायसंग समन्वय गर्दै प्रगतिशील युवा समाजले कार्यक्रमको आयोजना गरेको हो ।

कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरेको भएता पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन। उमेर नपुग्दै विवाह गर्ने प्रचलन बझाङमा अझै कायमै छ। हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर उनीहरुको यो सक्रियताले बालविवाह हट्न भने अझै सकेको छैन।

आइतबार सञ्चालन गरिएको बालविवाह विरुद्ध वृतचित्र ‘श्रव्य दृश्य’ प्रदर्शन कार्यक्रममा स्थानीय महिला, अभिभावक, विद्यार्थी बालबालिका, शिक्षक कर्मचारी, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार