बझाङ : बझाङको मष्टा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गर्न थालेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन गाउँपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले स्थानीय तहको सहकार्यमा त्यस्ता व्यक्तिलाई पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि मष्टा गाउपालिका ७ वटै वडामा तथ्याङ्क सङ्कलन गर्न लागीएको मष्टा गाउपालिकाका निमित्त प्रमुख पृथुराज जोशीले बताए ।
वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम( सञ्चालन तथा व्यवस्थापन निर्देशिका) २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ। कार्यक्रम स्थानीय तहको माग, आवश्यकता बमोजिम स्थानीय तहमार्फत् सञ्चालन हुने भएको छ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन हुन लागेको छ।
“गाउँपालिकाका सबै वडामा यसबारे पत्राचार गरी सकेको र वडा कार्यालय मार्फत् पुष १० गते सम्म तथ्याङ्क सङ्कलन गरीने र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले इच्छाएका कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए ।
मष्टा गाउपालिकाका अधिकांश युवाहरु रोजगारीका लागि भारत लगायत खाडीमुलुकमा जाने गरेका छन्। विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नका लागि कार्यक्रमले सघाउने जोशीले बताए ।


683 पटक हेरिएको 









