
बझाङ,भाद्र ३१ गते । बझाङका महिलाहरू महिनावारीको समयमा घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधि,प्रहरी र सरोकारवालाहरुको अगुवाइमा छाउगोठ भत्काएर छाउगोठ मुक्त अभियान चलाएपनि महिलाहरू महिनावारी हुँदा पुनः छाउगोठमै बस्न बाध्य छन् ।
घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन नसकेको कतिपय किशोरीहरुकोे गुनासो छ । पहिलोपटक महिनावारी हुदाँदेखी नै छाउगोठमा बस्न थालेकी खप्तडछान्ना गाउँपालिका ५ की सविता उपाध्याय भन्छिन्,घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै आमाबुबाले बस्नै दिँदैनन् । त्यसैले महिनावारी हुँदा छ दिनसम्म बाध्य भएर छाउगोठमै बस्ने गर्छु ।”उनले गाउँ छाउगोठहरु भत्काउने अभियान चलेपनि आफुले कहिल्यै घरभित्र बस्न नपाएको पीडा सुनाइन् ।घरमा बसे देउता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा आफुहरू महिनावारी हुँदा घरबाहिर (छाउगोठ) बस्न बाध्य हुँदै आएको खप्तडछान्ना गाउँपालिका ५ की कविता थापाले बताइन् । देउता रिसाउने र घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा आफूहरूले बर्षौँदेखि छाउगोठमा बस्दा हैरानी खेप्नु परेको उनि बताउँछिन् ।
छाउगोठको रूप मात्रै फेरिएको तर संस्कार र सोच जहाँको त्यहीँ रहेको महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले बताइन्। देउता रिसाउने अन्धविश्वास भएकै कारण महिनावारी भएका महिलाहरु स्वयंसमेत पानी पधेँरा प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध दही खानबाट पनि वञ्चित हुने गरेको जोशीले भनाइ छ ।महिनावारी हुँदा घरभित्रै छुट्टै कोठमा बस्दै आएका महिलाहरू भने छाउगोठमा नबस्न र अन्धविश्वास तोडेर अघि बढ्न जोशीले सुझाव दिइन।
यस्तै छाउगोठमा बस्दा कतिपय महिला दिदिबहिनीहरु बलात्कृत हुने, बिषालु सर्प, बाघ, भालु लगायत जंगली जनावरको सिकार हुने गरेका छन,महिनावारीभएका महिलाले अन्जानमा फलफूलका बोटबिरुवा छोइहाले सुनपानी छर्केर शुद्ध गर्ने, देउता रिसाउने र देवता रीसाएमा घरमा अनावृष्टी, अतीवृष्टी हुने भन्ने जस्ता अन्धविश्वासले गर्दा महिलाहरुले लामो समय देखी यस्ता पिडाहरु भोग्दै आएका काङ्ग्रेस नेतृ तथा स्वास्थ्यकर्मि साधना विसिले बताइन् ।यता खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले भने छाउपडि प्रथाको लागि गाउँपालिकाले पहल गरीरहेको बताए ।अहिले गाउँपालिकामा फियान नेपाल,ग्रिनतारा लगाएतका सँस्थाहरुले काम गरीरहेका छन्,पहिलेको जस्तो छाउँगोठहरु छैनन् र कतैकतै अन्धविश्वासका कारणले भएका भेटिएपनि तुरुन्तै आफुहरु भत्काउन तयार रहेको उहाँले बताए ।



खप्तडछान्ना गाउँपालिका वडा नं.५ मतुवाका केहि छाउगोठहरु(फोटो)
प्रहरी–प्रशासनले पटकपटक छाउगोठ भत्काउने अभियान चलायपनि गाउँघरमा भने अझै नयाँ छाउगोठ बनाउन भने छाडेका छैनन् ।जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न समयमा गरी हालसम्म १४३ वटा छाउगोठहरू भत्काइसकेको छ । महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो । अभियानलाई साथ दिँदै महिलाहरू स्वयं सहभागी भएर आफूहरू बस्दै आएका छाउगोठहरू भत्काएका थिए ।
अझैपनि जिल्लाको जयपृथ्वी नगरपालिका ११ धामिलेख, खप्तडछान्ना गाउपालिका ५ छोटाखेत र मतुवा, छविस पाथिभेरा गाउँपालिका १ काप्रिगाउँ,मस्टा गाउपालिका,तलकोट गाउपालिका, साइपाल गाउपालिका, बुगंल नगरपालिकाका केहि स्थानहरुमा महिलाहरु महिनावारी हुँदा पुनः छाउगोठमै बस्न बाध्य छन् ।महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न, कुनै किसिमको भेदभाव, छुवाछुत, अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।


604 पटक हेरिएको 









