
बझाङ,असार २७ गते ।बझाङमा यस बर्षको बर्षेयामामा उत्पादन भएको आलुको बजारिकरणमा समस्या भएको छ । कृषकले उत्पादन गरेको आलुले बजार नपाउने अवस्था सिर्जना भएपछि बजारको खोजिका लागि सरोकावालाहरु संग छलफल गरिएको हो ।
आलु उत्पादन र बजारीकरण गर्ने सम्बन्धमा सोमबार सदरमुकाम चैनपुरमा कृषि ज्ञानकेन्द्र बझाङ र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाको समन्वयमा बैठकमा आलुको बजारिकरणका लागि गाउपालिका तथा नगरपालिकाले अपनत्व लिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । समन्वय बैठकमा बझाङमा उत्पादनको अवस्था र बजारीकरणको समस्या लगाएतका विषयमा जानकारी गराइएको थियो । विगतका वर्षहरुमा बाहिरी जिल्लाबाट आलुको आयात हुने बझाङमा यस बर्षको बर्षेयामको आलु मात्रै चार हजार क्विन्टल आलु उत्पादन भएको कृषि ज्ञानकेन्द्र बझाङका प्रमुख टेक बहादुर बिस्टले बताउनु भयो ।
बैठकमा आलु उत्पादक कृषकहरु,तरकारी पसलका व्यापारीहरु,पत्रकार एवम् अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।सहभागिहरुले बझाङ जिल्ला आलु उत्पादनमा आत्मनिर्भर हुन लागेको र यसको बजारीकरणमा समस्या भएकाले व्यवस्थापनको पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै आगामि दिनहरुमा आलु उत्पादन र बजारीकरण गर्ने सम्बन्धमा पालिकाहरु सँग पनि समन्वय गरेर अगाडि बढ्ने प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना प्रमुख सविता जोशीले बताउनुभयो । पछिल्लो समयमा बझाङ जिल्लामा आलुको उत्पादन बढे संगै आलुमा जिल्ला आत्म निर्भरको बाटोमा छ ।


325 पटक हेरिएको 









