
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको घोडादाउन पाटनमा खप्तड क्षेत्रकै नमुना मन्दीर निर्माण कार्य सुरु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाकाले खप्तड प्रबेश गर्ने पहिलो पाटन (घासे मैदान)मा भवानी माईको प्यागोडा शैलीको नमुना मन्दीर निर्माण कार्य सुरु गरेको हो ।
खप्तड पर्यटकिय क्षेत्रका बर्षेनी सरकारबाट करोडौ रुपयाँ बिनियोजन भई बिभिन्न भौतिक संरचनाहरुनिर्माण भई रहेको भएपनि सरोकारबालाहरुले आर्थीक हिनामिना गरि भौतिक संरचनाहरु गुणस्तरिय नबनाएको गुनासो आई रहेका बेला सानो लगानीमा उत्कृष्ठ काम गर्ने उदेश्यले मन्दीर निर्माण कार्य सुरु भएको छ ।
खप्तडको सबै भन्दा रमणिय घोडा दाउन पाटनको सुरुमा बझाङको खप्तडछान्ना गाउँपालिकाका स्थानीयले बर्षौ देखि भवानी माईको ढुंगा लाई पुजाआजा गर्दै आएका थिए । मन्दीर नहुँदा ढुङ्गाको देउरो ( ढुङ्गोको मुर्ती)लाई भगवान सम्झदै रोग,भोग र शोकबाट मुक्ति मिलोस र गाई भैसीहरुको सुरक्षा भवानी भाईले गरुन भनि पुजा आजा गर्ने चलन छ । गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आक्रशित गर्नका लागी सोही ठाउँमा प्यागोडा शैलीको नमुना मन्दीर निर्माण कार्य सुरु गरेको छ ।
खप्तडछान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भन्नुभयो, “यो सुदूरपश्चिम प्रदेशको मात्र नभई देशकै पर्यटकिय क्षेत्र भएकाले गाउँपालिकाले सानो लगानीमा राम्रो र उत्कृष्ठ मन्दीर निर्माण गर्न लागेका छौ । १७ फिट उचाई रहेको प्यागोडा शैलीको मन्दीरको चौडाई आठ फिट रहने छ । सम्भब भए सम्म मन्दीरको बाहिर पट्टी स्थानीय कला , संस्कृती झल्कने काठहरुमा कलात्मक आकृती समेत राख्ने योजनामा छौ” । उहाँले बर्षेनी सरकारबाट खप्तडको बिकासका लागी करोडौ बजेट आउने र रकम समेत हिनामिना गरि गुणस्तरिय काम हुन नसकेकोले दिन प्रतिदिन खप्तडको बदनाम समेत हुँदै आएकाले गाउँपालिकाको सानो लगानीले नमुना मन्दीर निर्माण गर्न लागेको बताउनुभयो । अध्यक्ष रोकायाले यती थोरै रकममा पनि यस्तो काम हुँदो रहेछ भन्ने उदाहारण बनाउनका लागी पनि निर्माण गर्न लागेको बताउनुभयो । स्थानीय स्रोत साधनको प्रयोग गरि स्थानीय कला र संस्कृती समेत झल्कने गरि मन्दीरको सिंगार पटार गरिने भएको छ । मन्दीर नजीकै सौचालय र खानेपानी समेत निर्माण हुँदैछ ।
मन्दीरको वरिपरि र्यालिङ्ग राखेर ब्यवस्थित तरिकाले पुजाआजा गर्ने प्रबन्ध गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुले एक पटक हेर्नै पर्ने गन्तब्यका रुपमा समेत बनाईने योजना रहेको बताईएको छ । मन्दीर निर्माणको कार्य अहिले ५० प्रतिसत पुगेको मन्दीर निर्माण समितीका अध्यक्ष गजेन्द्र बहादुर रावलले बताउनुभयो । उहाँले खप्तड क्षेत्र आफुहरुको बन समेत भएकाले यस क्षेत्रको बिकासका लागी सबै भन्दा जिम्मेवार हामी स्थानीय भएकाले पनि यस्तो चिसो मौसममा समेत खप्तड जस्तो ठाउँमा दिन रात नभनि काम गरिरहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा करोडौ लगानीमा बनेका मन्दीर तथा भौतिक संरचना र हामीले थोरै लगानीमा बनाएको मन्दीरलाई तुलना गर्ने हो भने हामी खप्तड क्षेत्रकै उत्कृष्ठ मन्दीर बनाए पछि सबैले प्रतक्ष अनुभब गर्न पाउँने छन् । पुराण तथा महाभारतमा समेत खेचराद्री प्रर्वतका रुपमा बर्णन गरिएको खप्तड क्षेत्र धार्मिक हिसाबले समेत हिन्दुहरुको प्रमुख तिर्थ स्थल समेत हो ।
धार्मिकरुपमा यसको प्रचार प्रसार हुन नसकेको भएपनि पाण्डव र कौरबहरुको लडाईमा पाँच पाण्डबहरुले १४ बर्ष बनबास बस्दा केही समेत खप्तडमा बिताएको किम्बदन्ती छ । खप्तड क्षेत्रमा बिवाह, बर्तीबन्ध, नवाह, सप्ताह तथा सत्यनारायणको पुजाआजा ,रुद्री पाठ गर्नाले आफुले सोचे अनुसारको प्रतिफल मिल्ने गरेको स्थानीय स्तरमा बिश्वास छ । यसरी गाउँपालिकाले समेत लगानी गरि मन्दीर निर्माण, सौचालय तथा खानेपानी र प्रतिक्षालय समेत निर्माण हुँदैछन् । यी सबै संरचना निर्माणका लागी गाउँपालिकाले १३ लाख बजेट बिनियोजन गरेका छ भने केही स्थानीयको जनश्रमदान समेत रहने बताइएको छ ।


565 पटक हेरिएको 









