बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले बझाङको बुगंल नगरपालिकामा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिराले सानी गाड नै थुनिए पछि दुई घर पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोले सानीगाड खोला थुनिए पछि पारि पट्टी रहेका दुई घर पुरिएका हुन । एक्कासी माथीबाट भिर भत्केर खोलामा परे पछि नदी थुनिएर ताल बनेको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको जानकारी बताउनुभयो । उहाँले पहिले घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका समेत बताउनुभयो ।
घर पुरिदा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताउनुभयो । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको समेत उहाँले जानकारी दिनुभयो ।
यता बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिष्टले सानीगाड तथा कालंगागाड आस पासका बस्तीमा सचेत रहन आग्रह समेत गर्नु भएको छ । उहाँले नदीको वहाव बढ्दै गई रहेकाले नदी आसपासका बस्तीहरुलाई सचेत रहन आग्रह गर्नु भएको हो ।


864 पटक हेरिएको 









